Comments Add Comment

शासन बदलिएन भने गणतन्त्र नागरिकको हुन सक्दैन -राष्ट्रपति

 

काठमाडौँ, जेठ १५ – राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको दैनिक जीवनसँग जोड्नका लागि शासकीय चरित्रमा आमूल परिवर्तन आवश्यक भएको बताएका छन्। गणतन्त्र दिवस–२०८२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले ढिलासुस्ती, अनियमितता र बेथिति गणतन्त्रका मूल चुनौती बनेको उल्लेख गरे।

राष्ट्रपतिका अनुसार केवल राजनीतिक उपलब्धि नै पर्याप्त छैन। नागरिकको जीवनमा आशा, समृद्धि र समान अवसरहरूको प्रत्याभूति हुन सके मात्र लोकतान्त्रिक गणतन्त्रको सार्थकता सुनिश्चित हुने उनको भनाइ छ।

“हाम्रो राजनीति, शासकीय शैली, दलहरूको आचरण र जनप्रतिनिधिहरूको व्यवहार पूर्ण रूपमा लोकतान्त्रिक, निष्पक्ष, प्रतिस्पर्धात्मक र न्यायपूर्ण नबनेसम्म गणतन्त्र सशक्त हुन सक्दैन,” राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन्।

उनले हरेक नागरिकको जीवनमा आशाको दियो बल्नुपर्नेमा जोड दिए। “रगत र पसिनासँग साटिएको यो व्यवस्था तब मात्र सफल हुन्छ, जब जनताले सुशासन, रोजगारी, अवसर, स्रोतको न्यायोचित वितरण र सामाजिक न्याय महसुस गर्न पाउँछन्,” उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले स्रोतसाधनको अधिकतम प्रयोग गरी कृषिलाई आधुनिकीकरण, पर्यटन र ऊर्जालगायत क्षेत्रलाई सबल बनाउनु आवश्यक रहेको बताए। “यिनै क्षेत्रको विकासबाट मात्र आर्थिक समृद्धि सम्भव छ र गणतन्त्र नागरिकको जीवनसँग गाँसिन सक्छ,” उनले उल्लेख गरे।

गणतन्त्रलाई आचरण, नैतिकता र ऐतिहासिक दायित्वसँग पनि जोडेर हेर्नुपर्ने राष्ट्रपति पौडेलको धारणा छ। उनले वर्तमान समयमा मुलुकले ‘ऐतिहासिक जिम्मेवारी बिर्सन नहुने’ भन्दै सबैलाई जिम्मेवार बन्न आह्वान गरे।

उनले नेपालमा लागू गरिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संसारकै उत्कृष्ट व्यवस्थामध्ये एक ठहर गर्दै यसलाई समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यहरूले अझ सारगर्भित बनाएको उल्लेख गरे।

राष्ट्रपतिले सबै जाति, धर्म, भाषा, सभ्यता र भूगोललाई समेटेर साझा राष्ट्र निर्माण गर्न गणतन्त्र सक्षम भएको र यसले सम्पूर्ण नागरिकलाई राज्यसँग जोडेको धारणा पनि व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ