Comments Add Comment

गृहमन्त्रीको राजीनामा माग्दै मोदीले सोधे- प्रधानमन्त्री न्यायधीश बन्न मिल्छ ?

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राजीनामा न आउञ्जेल सदन चल्न नसक्ने बताए । 

गृहमन्त्रीमाथि उठेका प्रश्न गम्भीर भएको भन्दै छानबिनका लागि उनले राजीनामा दिनुको विकल्प नभएको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा बोल्दै उनले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने चेतावनी दिएका हुन् ।

मोदीले गृहमन्त्रीमाथि उठेका प्रश्न सामान्य नभएको र उनीमाथि छानबिन गर्दा प्रमाण नष्ट हुने सम्भावनाका कारण राजीनामा अपरिहार्य भएको बताए। “गम्भीर प्रश्न उठ्दा अघिल्लो सरकारका मन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गरेका थिए,” उनले भने, “त्यही आधारमा गृहमन्त्री लेखकले पनि पदबाट अलग भएर निष्पक्ष छानबिनका लागि सहयोग गर्नुपर्छ।”

उनले लेखकमाथि उठेका आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीले बचाउ गर्नु गम्भीर विषय भएको उल्लेख गरे। “प्रधानमन्त्री आफैंले मन्त्रीको बचाउ गर्दै न्यायाधीशको भूमिका खेल्ने अधिकार छैन,” मोदीले भने, “न त प्रधानमन्त्री न्यायालय हुन्, न त नेपाली कांग्रेस।”

भ्रष्टाचारको विरुद्ध लड्ने भनिएको सरकार अहिले भ्रष्टाचारी, दलाल र बिचौलियाको संरक्षणमा लागेको उनको आरोप छ। उनले गिरिबन्धु टी स्टेट, पोखरा विमानस्थल, सहकारी ठगीप्रकरण र अन्य विभिन्न काण्डहरूको पनि छानबिन हुनुपर्ने बताए।

राजसंस्थाबारे बोल्दै मोदीले अब राजतन्त्र फर्कने सम्भावना नरहेको दाबी गरे। 

“राजतन्त्र मरेको हो, त्यसको अवशेष मात्र बाँकी छ, अब त्यो फर्काउछौं भन्नू मरेको मान्छे बाँचेर घर आउँछ भन्नू जस्तै हो” उनले स्पष्ट पारे।

मोदीले बजेटमा रोजगारी सिर्जनाको कुरा नभएको, जनताको अपेक्षा अनुरूप नीति नआएको भन्दै सरकारको आर्थिक बर्ष २०८२/०८३को पनि आलोचना गरे। संसद् अवरुद्ध जारी राखेर गृहमन्त्रीको राजीनामा सुनिश्चित गराउने माओवादी केन्द्रको अडान रहेको सांसद मोदीले दोहोर्‍याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ