काठमाण्डौं । मनसुन लागेसँगै डेङ्गी संक्रमण देखिन थालेको छ। जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी संक्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा/ईडिसिडीको तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै संक्रमितको सङ्ख्या काठमाडौंमा देखिएको छ।
काठमाडौंमा १३२, कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० वटा संक्रमित भेटिएका छन्। ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए।
दाहालले यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने आकलन गरेकाले संक्रमण बढ्न सक्ने सम्भावना रहने बताए।