काठमाडौं । अमेरिका क्यालिफोर्निया राज्यस्थित लस एन्जलसमा आप्रवासीमाथि गरिएको छापामारीको विरोधमा सुरु विरोध प्रदर्शनले उग्र रुप लिएको छ। विरोध प्रर्दशनमा आगजनी र तोडफोड समेत भएको छ ।
आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ। प्रदर्शनकारी एवम् सुरक्षाकर्मीबीच भएको झडपका कारण आगजनी र तोडफोड भएका हुन्।
प्रहरीले चलाएको रबर गोलीबाट एक जना बेलायती फोटोग्राफर र एक जना अस्ट्रेलियन पत्रकार घाइते भएका छन्। यस्तै ६० जना आन्दोलनकारी घाइते भएको अमेरिकी सञ्चारमाध्यले जनाएका छन्।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन ७ सय जल सैनिक परिचालन गरेको छ। अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेकाहरुको खोजी र वहिर्गमनको काम तीब्र रुपमा भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा मात्रै झण्डै २ हजारको संख्यामा सुरक्षा गार्डका सैनिक परिचालन गरेको छ।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यस कदमविरुद्ध संघीय प्रशासनमाथि नै मुद्दा दायर गरेका छन्।