काठमाण्डौ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ । ठेकेदारको चरम लापारवाहीका कारण भवन निर्माण अलपत्र परेको हो ।
गत वर्ष असोजमा सम्पन्न हुनुपर्ने अस्पताल निर्माण कार्य समयमा नसकिएपछि भदौ मसान्तसम्म म्याद थप गरिएकोमा म्याद सकिन लाग्दासमेत निर्माण कार्यको प्रगति भने निराशाजनक देखिएको छ ।
हालसम्म अस्पताल निर्माणमा भौतिक र आर्थिक दुवैतर्फको प्रगति केवल ३० प्रतिशत देखिएको छ । बाँकी तीन महिनामा ७० प्रतिशत काम हुने सम्भावना नदेखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।
ठेकेदार कम्पनीले एक बर्ष भन्दा बढी काम गरेका कामदारलाई ज्याला नदिएको खुलासा भएको छ । ज्याला नपाएको कारण कामदार काम गर्न नमान्ने र बाहिरबाट आएका नयाँ कामदार पनि अगाडिका कामदारले ज्याला नपाएको थाहा पाएपछि छोडेर जाने गरेपछि सोचेजस्तो काम हुन नसकेको बुझिएको छ । ठेकेदारले भने कामदार नै नपाएको कारण काममा ढिलासुस्ती भएको बताउने गरेका छन् ।
अस्पताल भवन निर्माणका लागि सिनर्जी–राजदेवी भक्त–आर.पी. जेभी, चन्द्रपुर रौतहटसँग २०७९ असोज ७ गते सम्झौता भएको हो । २०८१ असोज ६ मा निर्माण कार्य सम्पन्न हुनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । हरिहरपुरगढी गाउँपालिकाका इन्जिनियर बेन्जामिन श्रेष्ठले भने, 'उक्त समयभित्र ठेकेदारले काम नगरेपछि २०८२ भदौ ३० गतेसम्मको म्याद थप गरिएको हो।' उनले अगाडि भने, 'थपिएको समयमा पनि निर्माण व्यवसायीले गाउँपालिकालाई बुझाएको कार्यतालिका अनुसार काम नभई ढिलासुुस्ती भएको छ । यस्तै सुस्त गतिमा काम भए चालु आर्थिक बर्षमा बिनियोजित बजेट फ्रिज हुने अवस्था छ ।'
अस्पताल निर्माणका लागि २१ करोड ८१ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जसमध्ये हालसम्म ६ करोड ६५ लाख ७१ हजार रुपैयाँ ठेकेदारले भुक्तानी लिएका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा संघीय सरकार र गाउँपालिकाबाट गरी कूल ९ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन भई कार्यान्वयनमा रहेको छ ।
चालु आर्थिक वर्षको बजेटबाट हालसम्म २ करोड ३६ लाख १६ हजार रुपैयाँको मात्र बिल पेस भएको देखिन्छ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटमा संघीय सरकारको ८ करोड ३१ लाख रुपैयाँ रहेको छ । यसैगरी हरिहरपुरगढी गाउँपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाको बजेटमा ६३ लाख रुपैयाँ राजस्व बाँडफाँड–स्थानीय–नगद र ३७ लाख रुपैयाँ आन्तरिक स्रोततर्फको रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार अस्पतालको काम सम्पन्न गर्न अझै ८ करोड २१ लाख ३५ हजार रुपैयाँ बजेट अपुग रहेको छ ।
