काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृतिम अभ्यासलाई सम्बोधन गर्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन् ।
उपप्रमुख डंगोलले सङ्कटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा उसको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
संघ, प्रदेश र स्थानीय सरकारबिच नीति निर्माणमा मात्र नभई विपद्को जोखिम न्यूनीकरण र उद्धारमा चासो, सकृयता एवम् आवश्यक समन्वय अपरिहार्य रहेकोमा उनले जोड दिईन् ।
सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले नेपाल प्राकृतिक प्रकोपका दृष्टिले संवेदनशील मुलुक भएको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताउँदै विपद आउनु अगावै त्यसप्रति सचेत हुन र आवश्यक तयारी गर्न आवश्यक रहेको बताए । उनले विपद् प्रतिकार्यमा सुरक्षाकर्मीहरूको दक्षता अभिवृद्धिका कृतिम अभ्यासहरु सबै स्थानीय तहमा आयोजना हुनुपर्नेमा जोड दिए ।
पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा समेत बाढी र डुबानका कारण ठुलो धनजनको क्षति भएको उल्लेख गर्दै उनले आवश्यक पूर्वतयारी गर्न र पर्याप्त जनशक्तिलाई तालिम प्रदान गर्न आवश्यक रहेको औंल्याए ।