Comments Add Comment

फिक्कल गाउँपालिका अध्यक्ष बरालद्वारा ५ करोड ठगी, पर्सा अदालतमा मुद्दा !

काठमाडौं । गायक समेत रहेका फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालविरुद्ध मुद्दा दायर भएको छ । वीरगञ्जको सानो पाइला सहकारी ठगीको आरोपमा बराल विरुद्ध मुद्दा दायर गरिएको हो । 

उपाध्यक्ष बराललाई 'फरार प्रतिवादी' बनाउँदै पर्सा जिल्ला अदालतमा सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको हो । उनीविरुद्ध ५ करोड ५१ लाख ९७ हजार ३५२ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
सुप्रिम सहकारीदेखि स्वर्णलक्ष्मी सहकारीसित जोडेर मुद्दा दायर भएको थियो । जीबी राई जोडिएका सुप्रिम सहकारी, स्वर्णलक्ष्मी एवम् सानो पाइला सहकारी ठगी प्रकरणमा बराल सबैतिर जोडिन पुगेका छन् । 
 
गायन क्षेत्रमा समेत रहेका बरालसहित २९ जनालाई प्रतिवादी बनाइएको यो सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको हो ।


प्रहरीले १४ वैशाखमै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालय पर्साले बल्ल आइतबार ठगीमा संलग्न विरुद्ध मुद्दा दर्ता गरेको हो ।


यो सहकारीका पूर्वसञ्चालक तथा संरक्षक जीबी राई हुन् । राई हाल फरार छन् ।
तत्कालीन वीरगञ्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगञ्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।


सानो पाइला सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेसनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

नेकपा एमालेबाट गाउँपालिकाको उपाध्यक्ष निर्वाचित बराल फिक्कल गाउँपालिकाका पूर्व वडा अध्यक्ष हुन् । स्वल्पा निवासी बराल राजनीतिमा छिटो फड्को मारेका एक जनप्रतिनिधि समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ