यहाँ आफ्नै माटोमा उभिन पनि
मैले कुत बुझाउन पर्छ
यहाँ दुई पोका थोत्रो फोक्सो भित्र
अलिकती अक्सिजन उमार्न पनि
मैले अनुमती लिनु पर्छ
अनि मुटुको चार कोठा भित्र
अलिकति रगत सिञ्चन गर्न पनि
मैले हरदिन भाडा बुझाउनु पर्छ
भनिदेउ न मेरो देश
म नागरिक हूँ कि अनागरिक
तिमी मेरो देश हौ कि भाडाको घर ?
पाइलै पिच्छे जुत्ता खियाएको
पनि मैले सडक कर बुझाउनु पर्छ
मेरै जरुवाको पानी पिउन पनि
मैले हर महिना तिरो तिर्नु पर्छ
पाटी, पौवामा बसेर
एकछिन शितल हावा खाएको पनि
मैले थैली बुझाउनु पर्छ
भनिदेउ न मेरो देश
म नागरिक हूँ कि अनागरिक
तिमी मेरो देश हौ कि भाडाको घर ?
यहाँ अलि चाँडो श्वास फेरेको पनि
मैले हर्जना तिर्नुपर्छ
म आधिमरो भएर आइसियुमा लड्दा
त्यसमा पनि मैले
बाचिन्जेलको लेभी बुझाउनु पर्छ
भेन्टिलेटरमा जिउँदो लाश भएर लडिरहदा
उता देस बिल भरिरहन्छ
भनिदेउ न मेरो देश
म नागरिक हूँ कि अनागरिक
तिमी मेरो देश हौ कि भाडाको घर ?
मलाई बाँच्दा नि सुख छैन न मर्दा
अरु त भो भो
घाटको ब्रम्हनालको पानीको पनि
मैले तिरो बुझाउनु पर्छ
आर्यघाटमा मलाई पोल्ने
परालको पनि मैले रसिद काट्नु पर्छ
भनिदेउ न मेरो देश
म नागरिक हूँ कि अनागरिक
तिमी मेरो देश हौ कि भाडाको घर ?
मेरो सार्वभौमिकता आज
मलाई नै देखेर खिसिटिउरी गर्छ
मैले मेरै सिंहदरवार भित्र पस्न
अनुमती लिनुपर्छ
मेटल डिटेक्टर शरीरभरी कुदाउनु पर्छ
म नागरिक कि अपराधी ?
बोलिदेउ न नेपाल राजपत्रको दफा उपदफा
म को हूँ ?
अनि मेरो आफ्नो देश कहाँ छ ?