काठमाण्डौ । मरिण गाउँपालिका २०८२ सालको उत्कृष्ट गाउँपालिका भएको छ। पोखरामा सम्पन्न प्रिन्सिपल एशोसियसन नेपाल (PAN)को दोस्रो राष्ट्रिय सम्मेलनका अवसरमा सिन्धुलीकाे मरिण गाउँपालिकालाई पान उत्कृष्ट गाउँपालिकाको पुरस्कार प्रदान गरिएको हो ।
प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले २५ मापदण्डका आधारमा देशभरका विभिन्न गाउँपालिकाहरूको मूल्याङ्कनमा मरिणलाई उत्कृष्ट ठहर गरेको हो ।
समितिको मूल्याङ्कन अनुसार मरिण गाउँपालिका बागमती प्रदेशको उत्कृष्ट गाउँपालिकाको रूपमा छानिएको हो।
शिक्षा क्षेत्रमा सक्रिय नेतृत्व, नवीन कार्यशैली, दूरदर्शी नीति र गुणस्तरीय कार्य प्रगतिका आधारमा गाउँपालिकाले पछिल्ला केही वर्षमा उल्लेखनीय सुधार र उपलब्धि हासिल गरेको मूल्याङ्कन समितिको ठहर छ।
गाउँपालिकाले शैक्षिक पूर्वाधार विकास, शिक्षक तालिम, शैक्षिक गुणस्तर सुधार, डिजिटल प्रविधिको प्रयोग र विद्यार्थीमैत्री वातावरणको सिर्जनामा विशेष ध्यान दिएको समितिको मूल्यांकन छ ।
मरिण गाउँपालिकाका अध्यक्ष विमर्स मोक्तान 'प्रख्यात' ले पुरस्कार एवम् सम्मान ग्रहण गरे । सम्मान पछि अध्यक्ष मोक्तानले गाउँपालिकाको समग्र विकासमा आफूहरू इमानदार भएर लाग्ने बताए । विशेष गरी शिक्षा क्षेत्रमा देखिएको प्रगति सामूहिक प्रयासको परिणाम भएको बताउँदै अध्यक्ष मोक्तानले समर्पित शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय जनसमुदायको साथ सहयोगले गाउँपालिकाले यो सम्मान प्राप्त गरेको बताउँदै सबैप्रति आभार व्यक्त गरे । उनले भविष्यमा गुणस्तरीय शिक्षाका लागि काम गर्न हौसला मिलेको बताउँदै इमानदारीपूर्वक काम गर्ने प्रतिवद्धता जनाएका थिए ।