Comments Add Comment

अग्रज पत्रकार पद्मभक्त खरेलको निधन

काठमाण्डौ । अग्रज पत्रकार पद्मभक्त खरेलको ८१ वर्षको उमेरमा निधन भएको छ । खरेलको बिहीबार लाजिम्पाटस्थित नीजि निवासमा निधन भएको हो ।

'आकाश खस्यो, बुवा रहनु भएन ।' सामाजिक सञ्जाल फेसबुकमा पद्मभक्तका ज्येष्ठ सुपुत्र डा अश्वस्थामाभक्त खरेलले लेखेका छन् ।

पञ्चायतकालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कृयाशील खरेल ‘दिव्यचक्षू’ साप्ताहिकका संस्थापक प्रकाशक हुन् ।  ०७३ सालमा नेपाल पत्रकार महासंघबाट प्रदान गरिएको ज्येष्ठ पत्रकार वृति सम्मान प्राप्त गर्ने १६ अग्रज पत्रकारमध्ये खरेल एक हुन् । ७३ सालमा पद्मभक्त खरेल लगायत १६ अग्रज पत्रकारलाई मासिक एक हजार (एकमुष्ठ वार्षिक १२ हजार) नगद सहित सम्मान गरेको थियो । लगातार तीस बर्ष काम गर्ने ६५ बर्ष माथिका पत्रकारलाई यो सम्मान दिइन्छ । ७८ सालबाट सूचना तथा सञ्चार मन्त्रालयबाट शुभारम्भ गरिएको ज्येष्ठ पत्रकार वृति पाउने पद्मभक्त एक हुन् । पत्रकारितामा लामो समय योगदान दिएको आधारमा दिईने ज्येष्ठ पत्रकार वृत्ति अन्तर्गत नेपाल सरकारले ज्येष्ठ पत्रकारलाई मासिक पन्ध्र हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ ।

उमेरको आधारमा ज्येष्ठ पत्रकार वृतिको वर्गीकरण गरिएकोमा खरेल अधिकतम् वृत्ति प्राप्त गर्ने पत्रकार हुन् ।

ज्योतिष समेत रहेका खरेललाई सुगरको सामान्य समस्या बाहेक केही नभएको पारिवारिक स्रोतबाट बुझिएको छ ।

काभ्रेपलाञ्चोकको हालको भुम्लु गाउँपालिकामा गणेशभक्त खरेल र तोलावती खरेलका दोस्रो सन्तानका रुपमा जन्मिएका पद्मभक्त काठमाडौँको लाजिम्पाटमा बस्दै आएका थिए ।

उनका धर्मपत्नी विष्णुलक्ष्मि खरेल र दुई छोरा डा अश्वस्थामाभक्त खरेल एवम् अनिल खरेल छन् । डा अश्वस्थामाभक्त त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गका राजनीतिशास्त्र विभागका उपप्राध्यापक हुन् । अधिवक्ता, लिक्विडेटरसमेत रहेका अश्वस्थामाभक्त पद्मभक्तद्वारा सञ्चालित एवम् प्रकाशित दिव्यचछु साप्ताहिकका प्रवन्ध सम्पादक समेत हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् लेखक तथा राजनीतिक विश्लेषक अजयबाबु शिवाकोटीले खरेलको बिहिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टी भएको बताएका छन् ।

शिवाकोटी पद्मभक्तका भाञ्जा हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ