Comments Add Comment

कुशेश्वरको फेसबुकबाटै ठगीधन्दा, अपुताली सम्पत्तिको लोभमा गयो कुर्मराजको ६३ लाख !

काठमाण्डौ । सामाजिक सञ्जाल मार्फत मानिस ठगिने क्रम व्यापक बन्दै गएको छ । व्यक्तिहरू विभिन्न प्रलोभनमा फस्दा ठगिनेक्रम व्यापक बन्दै गएको हो ।
एक नागरिकले अपुताली सम्पत्ती मिलाईदिन्छु भन्दै झण्डै ६३ लाख झ्वाम पारेको खुलासा भएको छ ।
फेसबुकमार्फत रु ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरे पछि यस्तो खुलासा भएको हो।

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले सो रकम ठगीको आरोपमा पक्राउ गरेको छ। मेहताले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम कमर्सियल बैंकको मेनेजर भएको परिचय दिँदै आएका थिए। 

उनले आफ्नो परिचय दिँदै एलेन अर्बी शाही नामक व्यक्तिको सो बैंकमा खाता रहेको, निजको कोही पनि नातेदार नभएको र पीडित कुर्मराज शाहीको जात मिल्ने भएकाले सो खातामा रहेको सम्पूर्ण रकम तपाईँको नाममा राखिदिन्छु भनी प्रलोभन देखाउँदै रकम ठगी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार प्रलोभनमा परी कुर्मराज शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा जम्मा रु ६२ लाख ७५ हजार २०० पठाएका थिए। 
अनुसन्धानका क्रममा पीडितलाई विश्वास दिलाइ ठगी गरिएको पुष्टि भएको प्रवक्ता खतिवडाले बताए।

लामो समयदेखि फरार मेहतालाई जिल्ला प्रहरी कार्यालयको टोलीले यहि मङ्गलबार साँझ सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रवक्ता खतिवडाका अनुसार पक्राउ परेका मेहतालाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरो भोटाहिटी, काठमाडौंँ पठाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ