Comments Add Comment

ईश्वरको मध्यान्ह झुल्के घाम र गोधुली सार्वजनिक

काठमाडौं । १३ भदौ, २०७९

इश्वर दाहालले उपन्यास मध्यान्ह झुल्के घाम र गोधुली ल्याएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्डमा आयोजित लोकार्पण कार्यक्रममार्फत उनको कृति सार्वजनिक भएको हो ।

‘उपन्यास भयो कि भएन ?’ अन्योलकै कारण पाँच वर्षअघि नै लेखी सिध्याएको कृति ईश्वर दाहालले बल्ल सार्वजनिक गरेका हुन् ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रमबीच औपन्यासिक कृति ‘मध्याह्न झुल्के घाम र गोंधुली’ सार्वजनिक गर्दै लेखक दाहालले भने, ‘पाँच वर्षअघि नै उपन्यास तयार भयो तर निक्र्यौलमा पुग्नै समय लाग्यो ।’ सिन्धुलीका यी लेखकले १९ वर्षको उमेरमै महाकाव्य लेखेका थिए ।

देखे–भोगेका सामाजिक–राजनीतिक परिवर्तन र पात्र उपन्यासमा उतार्ने प्रयास गरेको उनले सुनाए । ‘यी घटनाक्रमसँग बाल्यकालदेखि नै साक्षात् हुँदै आएको छु, यही नै कृति स्रोत बन्यो,’ यसअघि ‘तात्दै छन् चिसा मानचित्र’ उपन्यास र ‘मेरा महान चित्रकारिता’ कथासंग्रह ल्याइसकेका दाहालले भने, ‘सामान्य मानिसको आँखाले देशमा भएको परिवर्तन कसरी हेरिरहेको छ त ? आममान्छेको आँखाबाट हेरेर उपन्यासमा यही लेख्न प्रयास गरेको छु ।’

सांग्रिला बुक्सले बजारमा ल्याएको कृति विमोचनका क्रममा समाजशास्त्री नारायणी देवकोटाले ‘उपन्यासले आफ्नो पुस्ताको कथा भन्न सफल भएको’ टिप्पणी गरिन् । उपन्यास ‘इतिहास र फिक्सनका रूपमा उभिएको’ चर्चा गर्दै उनले ‘राजनीतिक परिवर्तनका रोचक कथा’ उपन्यासमा आएको औंल्याइन् ।

लेखक तथा पत्रकार वसन्त बस्नेतले पत्रकारिता एवम् पत्रकारका मनोदशा समेत उपन्यासमा चित्रण गरिएको बताए ।

पात्रका परिवेश र अन्तरसंघर्ष उपन्यासमा मिठो शैलीमा प्रस्तुत गरिएको उनको विश्लेषण छ । २०४६ सालयताका राजनीतिक परिवर्तन आममान्छेको आँखाबाट हेरिएर उपन्यास लेखिएको बस्नेतले सुनाए ।

कार्यक्रममा आख्यानकार बुद्धिसागरले उपन्यास युवापुस्ताको कथा भएको उल्लेख गरे । ‘पात्रको कथा भन्ने शैली राम्रो लाग्यो,’ उनले भने, ‘पृथक शैलीमा लेखकले समाजको कथा भनेका छन् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ