Comments Add Comment

साहित्यकार मोहन सिटौला सम्मानित

काठमाडौं । १४ भदौ, २०७९

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको मासिक रचनावाचन, स्रष्टा सम्मान तथा १५७ औं मोती जयन्ती कार्यक्रम भव्यता साथ सम्पन्न भएको छ । भदौ ११ गते शनिबार, बालुवाटार (काठमाण्डौ) मा कार्यक्रम सम्पन्न भएको हो।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा . जगतप्रसाद उपाध्यायको प्रमुख‌ आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक मोहन सिटौलालाई लीलाध्वज थापा स्रष्टा सम्मान अर्पण गरियो । प्रमुख अतिथि प्रेक्षितले प्रतिष्ठानले सिटौलालाई सम्मान गरेकोमा सम्मानित प्रतिभालाई बधाई र उहाँजस्तो व्यक्तिलाई खोजि गर्न सक्ने लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष र प्रतिष्ठान आफैं बधाईको पात्र भएको बताउनु भयो । सम्मान प्रदान गर्दा योग्य र असल व्यक्ति छानिएकोमा खुशी व्यक्त गर्नु भयो । मोती जयन्तीको सन्दर्भमा सम्पन्न कार्यक्रममा मोतिराम भट्टको नेपाली साहित्यमा योगदानको विषयमा चर्चा गर्दै भट्टले नेपाली भाषा साहित्यमा दिनुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै लीला ध्वज थापाले पनि थोरै लेखेको भएता पनि नेपाली साहित्य र त्यस बेलाको समाजलाई हेरेर ज्यादै महत्वपूर्ण काम गरेकैले हामीले उहाँको प्रशंसा एवम् सम्झना गर्दछौ भन्ने धारणा राख्नु भयो । नेपाली समाजको यथार्थलाई कलात्मक ढंगबाट उपन्यास, नाटकबाट प्रस्तुत गर्नु थापाको बिशेषता भएको बताउँनु भयो ।

कार्यक्रममा सम्मानित स्रष्टा प्राध्यापक मोहन सिटौलाले लीलाध्वज थापाले धेरै उपन्यास, नाटक, हाँस्य-व्यङ्ग्य, कविता आदि लेख्नु मात्र भएन, त्यस समय लेखिएको सिर्जना आजपनि सान्दर्भिक भएको उल्लेख गर्दै उपन्यासकार थापा क्यारिकेचर गर्नमा पनि निपूर्ण भएको खुलासा गर्नुभयो । वास्तवमा उहाँको बारेमा गहिरो अनुसन्धान हुनुपर्ने सिटौलाको जोड थियो ।
लीलाध्वज थापा जस्तो प्रतिष्ठित व्यक्तिको नामको प्रतिष्ठानबाट सम्मानित हुन पाउनु ठूलो कुरा भएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष विजयध्वज थापा लगायत प्रतिष्ठान प्रति आभार व्यक्त गर्नु भयो ।
प्रतिष्ठान अध्यक्ष कवि, गितकार विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रकार तथा नियात्राकार रामप्रसाद पन्तले अतिथिहरूलाई स्वागत गर्दै सम्मानित व्यक्तित्व साहित्यकार प्रा. मोहन सिटौलाको व्यक्तित्व एवम् कृतित्व माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा जगतप्रसाद उपाध्याय, मुकुन्द न्यौपाने, कुमार नेपाल, सुरेश वैद्य, महेशप्रसाद रिजाल, विजयध्वज थापा, उत्तम विचार , धरणीधर गुरागाई, रुद्र अधिकारी, भुवन शिवाकोटी, लालबहादुर भुजेल, मुकुन्द पौडेल, पवन आलोक, प्रा.डा. गोविन्दमान सिंह कार्की, विनोद नेपाल, सुमन पुडासैनी 'मित्र', राजेशमान केसी, सुशान्त केसी, आवेश मिश्र, सुशीला ढकाल अधिकारी, मिसन अधिकारी, जगदिश्वर पोखरेल, बिन्दु अधिकारी ढकालले आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा रचना वाचन गर्नु हुने चौबीस स्रष्टालाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । साहित्यकार पवन आलोक, प्रा.डा. गोविन्द मानसिंह कार्की विशेष अतिथि रहेको कार्यक्रमको अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्था समेत सम्मानित भएको धारणा व्यक्त गर्नुका साथै प्रमुख अतिथि तथा सम्मानित स्रष्टाले अत्यन्त सारगर्भित एवम् शिक्षाप्रद वक्तव्य दिनुभएकोमा हार्दिक आभार व्यक्त गरेका थिए ।
सबैले राम्रै रचना गरुँ भन्ने सोच राखेका हुन्छन् तर राम्रो लेख्छु भन्दैमा कसैले पनि सबै रचना राम्रो मात्र लेखेका हुन्नन् तर रचना गर्न निरन्तरता दिनुपर्दछ भन्दै सबैमा धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए । कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर