काठमाडौँ । भाटभटेनी सुपरमार्केटले चैत्र १५ को लुटपाटमा साहसिक कार्य गरेका सुरक्षा गार्डलाई नगदसहित सम्मान गरेको छ । शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्न हुँदा लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।
बुधवार एक कार्यक्रमका बिच भाटभटेनीले पराजुलीका अतिरिक्त अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गर्यो भने सोही बेला ड्युटीमा रहेका अर्का दुई जना सुरक्षागार्डलाई पनि २५ हजारका दरले सम्मान गरेको हो । यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको छ ।
भाटभेटनी सुपरमार्केटमा अध्यक्ष मीन बहादुर गुरुङले नगद पुरस्कारसहित सम्मान गरेका हुन् । सुपरमार्केटमा तोडफोड तथा लुटपाट भएको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मतसम्भारमा खटिएका कर्मचारीको मनोबल उच्च बनाउन सम्मान गरिएको भाटभटेनीका सिइओ राजु पौडेलले बताए।
पुरस्कृत पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको प्रतिकार सामाजिक सञ्जालमा भाइरल छ । सयौंको संख्यामा रहेका व्यक्तिहरूलाई उनले भगाएको भिडियोमा देख्न सकिन्छ । घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।
