Comments Add Comment

एलिजा-डान्समा रमाएको 'मेरो शरीर, मेरो अधिकार' !

भदौ पहिलो साता मोडल एवं नायिका एलिजा गौतमको एउटा नृत्य टिकटक लगायतका सामाजिक सञ्जालहरूमार्फत् व्यापक (भाइरल) भयो । भिडियोको परिवेश हेर्दा त्यो तीजको कुनै कार्यक्रमझैं देखिन्थ्यो । गीत भने तीजको थिएन । कुनै हिन्दी गीत (काला चस्मा) को धुन थियो । पहिलोपल्ट देख्दा अलिक अनौठो लाग्ने त्यो नृत्यमा धेरैका नकारात्मक टिप्पणी (कमेन्ट) थिए । एलिजालाई धेरैले खिल्ली उडाइरहेका थिए । 

त्यसपछिका अधिकांश तीज कार्यक्रममा त्यही नृत्य र हाउभाउका भिडियो आउन थाले । एलिजाको नृत्यभन्दा पनि धेरै ‘स्वच्छन्द’ प्रकृतिका । यतिसम्म कि कतिपय दिदीबहिनी त सुतेर वा एकअर्का माथि चढेरसमेत नाचेको देखियो । 

यस्तै भिडियोका स्क्रिनसट लिएर सञ्चारकर्मी रमा सिंहले ट्विटरमा असन्तुष्टि जनाएकी मात्र के थिइन् उनलाई गाली गर्नेहरूको ताँती लागिहाल्यो । गाली गर्नेहरूमा पुरुषभन्दा महिला नै धेरै थिए । उनीहरूको भनाई थियो– मेरो स्वतन्त्रता । मेरो शरीर मेरो अधिकार । 

तीजको सेफोफेरोमा समाजिक सञ्जालहरूमा अभिव्यक्त सामाजिक–सांस्कृतिक प्रदर्शन र त्यसमाथिको टीकाटिप्पणीले समकालीन समाजको, खासगरी महिला महिलाबीचको ‘असहिष्णु–मनोदशा’ दर्शाउँछ । यसले हिजोका दिनमा सासु–बुहारी वा नन्द–आमाजूबीच चल्दै आएका ‘असहिष्णु–व्यवहार’ क्रमशः घट्दै गए पनि त्यसको ठाउँ सामाजिक सञ्जालहरूमा देखिएका यस्तै गाली–गलौज र खिसीटिउरीले ओगट्न थालेको त होइन भन्ने प्रश्न पैदा गराएको छ । 

पढेलेखेका र चेतनशील भनिएका नारीहरू नै आफूले गरे जे पनि ठीक दोस्रोले प्रश्नै मात्र उठाए पनि बेठीक भन्ने मनोभावनाबाट अझै उम्कन नसक्ने हो भने ‘नारी–स्वतन्त्रता’को वास्तविक मर्म व्यवहारमा कसरी लागू हुन सक्ला ?

हो, ‘मेरो शरीर मेरै अधिकार’ हो । यो तथ्य महिलालाई मात्र नभई संसारका सबै मानिसलाई लागू हुन्छ । तर के त्यसो भन्दैमा कुनै व्यक्ति नाङ्गै सार्वजनिक पार्कमा दगुर्न पाउँछ ? अवश्यै पाउँदैन ।  

संसारभर हर प्रकृतिको स्वतन्त्रताको एउटा सीमा हुन्छ । भलै त्यो सीमा कुनै समाजमा फराकिलो र कुनै समाजमा संकीर्ण हुन्छ । हाम्रो सीमा कति हो त्यो हामी आफैंले महसूस गर्ने र व्यवहारमा उतार्ने कुरा हो । नियम कानूनले बाँध्ने विषय होइन ।  

नारी–स्वतन्त्रताको अर्थ कतिका लागि पार्टी प्यालेसमा बियरसहित खिचिएका तस्विरहरू पोष्ट गर्नु, महँगा गरगहना र लुगाफाटाको प्रदर्शन–प्रतिस्पर्धामा उत्रनु र आफूजस्तै दिदी बहिनीलाई नै असहज हुने प्रकृतिका नृत्यहरूमा रम्नु पनि होला । तर सबैका लागि यो पक्कै पनि होइन । जसले ‘यसो गर्नु ठिक होइन’ भन्छ, उसको विचार पनि उत्तिकै सम्मानयोग्य हो जति ‘स्वच्छन्द–नृत्य’ गर्नेहरूको । 

आफ्नो वैयक्तिक स्वतन्त्रताका नाममा जस–जसले ‘मनपरि–नृत्य’ गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन् उनीहरूलाई दोस्रोले ‘यसो गर्नु ठीक भएन’ भन्नै नपाउने ? फरक मतलाई दुत्कार्ने र गाली गलौजमा उत्रिइहाल्ने ? 

एलिजा गौतम मोडल तथा नायिका हुन् । ‘मोडेल’ वा ‘नायिका’ भनेकै समाजका लागि ‘नमूना’ वा ‘आदर्श’ हुन् । यो कुनै सिद्धान्त होइन, व्यावहारिक यथार्थ हो । नभन्दै उनले जस्तो नाचेर सामाजिक सञ्जालमा हालिन् अरु धेरैले त्यस्तै गरे । कति त अझ त्योभन्दा धेरै अगाडि बढे । नृत्यको नामै कतिले ‘एलिसा–डान्स’ राखिदिए । 

र, यो क्रम बढ्दै जाँदा यस्तो स्थितिमा पुग्यो कि जुन भारतीय गीतमा उनले जस्तो व्यहोराको नाच नाचिन् त्यसलाई लिएर नेपाललाई नै खिल्ली उडाउने गरी भारतीय अखबारहरूमा नकारात्मक समाचार छापिए । यो कुरालाई हामीले स्वतन्त्रताका नाममा अझै प्रोत्साहन गरिरहने कि ‘तिमी त हाम्रो गहना हौ, समाजलाई राम्रो सन्देश देऊ’ भनेर संझाउने ? 

‘एलिजा–डान्स’मा केही स्कुलका शिक्षिकाहरूले स्कुल ड्रेसमै भद्दा नाच देखाए । पछि उनीहरूले आफ्नो यो ‘गल्ती’का लागि माफी पनि मागे । तर उनीहरूले ‘माफी’ मागेको पनि केही दिदीबहिनीलाई पचेन । सामाजिक सञ्जालमा उनीहरूको तर्क थियो, ‘शिक्षक चाहिँ मान्छे होइनन् ? उनीहरूको मन हुदैन ?’ 

हो, शिक्षकको पनि मन हुन्छ । शिक्षकको मात्र हैन, हर पेशाकर्मीको हुन्छ । तर मन लाग्यो भन्दैमा
मनमा लागेजति सबै जहिँसुकै जसरीसुकै गर्न मिल्छ ? आफ्नो स्थान, परिवेश र कर्तव्यको पनि केही अर्थ हुन्छ कि हुँदैन ? आखिर समाज भनेको मानिसहरूको भीड मात्र होइन । भीडबाट समाज छुट्टिनका लागि जे चाहिन्छ, त्यो भनेकै आदर्श, मूल्य र मान्यता हुन् । हामी समाजमा बस्ने हो कि भीडमा, त्यो हामी आफैंले तय गर्ने हो ।  

समाज परिवर्तनका अनेकौं कारणहरूमध्ये आधुनिकीकण पनि एक हो । पश्चिमीकरणलाई नै हामीले आधुनिकीकरण भनेर बुझ्ने गरेका छौं जसमा परसंस्कृति–ग्रहण उत्तिकै प्रवल छ । यसको विस्तार र प्रसारमा सामाजिक–सांस्कृतिक पक्षभन्दा पनि आर्थिक–प्राविधिक पक्षले ज्यादा भूमिका निर्वाह गरिरहेको हुन्छ । 

हप्ताभरमै ‘एलिजा–डान्स’ नै तीजको मुख्य पहिचान हो कि भनेझैं फैलिनु संस्कृतिमाथि प्रविधि र परसंस्कृतिको दबदबा हो भने महिनैभर नयाँ पोशाक–प्रदर्शनको प्रतिस्पर्धा आर्थिक विस्तारवादको प्रभाव हो, जसले तीजलाई मात्र नभई विवाह, व्रतवन्ध, दशैं तिहारजस्ता सबै संस्कृति र परम्परालाई नराम्ररी गाँज्दै लगेको छ । 

प्रत्येक संस्कृतिमा निश्चित आदर्शले सामाजिक–सांस्कृतिक ढाँचालाई निर्धारण गरिरहेको हुन्छ । स्कुलको त्यही पोशाकमा तीजको मौलिक गीतमा नाचिएको थियो भने त्यसको महत्व छुट्टै हुने थियो । त्यहीँ वाहवाही बटुल्ने प्रसस्तै ठाउँ थिए ।

आखिर दुनियाँभर नकारात्मक सोच भएका मान्छे मात्रै छैनन् । राम्रोलाई राम्रो भन्ने र राम्रै टिप्पणी गर्नेहरू पनि छन् । तर त्यहाँ त स्कुल पोशाकमै भद्दा नृत्य प्रस्तुत गरेर तीजको मजाक उडाइएको थियो । त्यसैमाथि उनीहरूले गल्ती महसुस गरेर माफी मागिसकेपछि अरुलाई किन त्यही जबर्जस्ती सही ठहर्नु परेको होला ? 

त्यसो त नारीवाद र आधुनिक समाजशास्त्रीय कोणहरूबाट तीज पर्वमाथि नै प्रश्न उठाउन सकिने अनेक ठाउँ नभएका होइनन् । पौराणिक कथाहरू र परम्परागत प्रचलनहरू जे जे भए पनि तीज आम नारीका लागि उत्साह र आत्मीयता महसूस गराउने पर्व हो । यसभित्र लैंगिक अधिकार र वर्गीय चेतको हिस्सा उतिवेलै देखि सन्निहित थियो, अहिले पनि छँदैछ ।

केही बर्ष अगाडिसम्म एकदिन मात्र दर खाने चलन थियो । मैले थाहा पाउँदासम्म एकदिन नै दर खाइन्थ्यो । बिस्तारै बिस्तारै कस्ले कुन दिन भ्याउँछ त्यही दिन दर खाने चलन भयो । अचेलका दिदीबहिनी धेरैतिर छरिएका र कामकाजीसमेत भएकाले एकैदिन सबैतिर भेट्न सम्भव हुँदैन । एक दिनको सट्टा धेरै दिन दर खाउँ केही भएन । तर त्यसको अर्थ अरूलाई होच्याउने, हियाउने तरिकाले प्रस्तुत भएर सम्पन्न र विपन्न, धनी र गरिब महसूस हुने वातावरण किन बनाउने ?

संस्कृति परिवर्तनशील हुन्छ । परिवर्तनशील भए पनि हरेक संस्कृतिलाई परिभाषित गर्न सकिने केही न केही विशिष्ट गुणहरू कायमै रहन्छन् । हामीले सिउँदोमा लगाउने सिन्दूरले एउटा सांस्कृतिक अर्थ लाग्छ भने पूरै सेतो कपडा लगाउनुले अर्कै अर्थ बुझाउँछ । तर सांस्कृतिक अर्थवोधको यो तरिका हिजोको दिनमा जति प्रष्ट थियो, आज छैन । यस्तो समय आउन सक्छ जहाँ सांस्कृतिक अर्थवोधका ती संकेतहरू नामेट हुन वा तिनको स्थान अरू नै केहीले ग्रहण गर्न सक्छन् ।  

कुनै पनि समाजमा अभौतिक संस्कृति (सामाजिक परम्परा, धारणा, मानसिकता आदि) को विकासभन्दा भौतिक संस्कृतिको विकास तीव्र हुन्छ । समाजशास्त्रीहरू यसलाई सांस्कृतिक अन्तराल (कल्चरल–ल्याग) भन्ने गर्छन् । प्रत्येक समाज सांस्कृतिक अन्तरालको संक्रमणबाट गुज्रिरहेका हुन्छन् ।

तीजमा व्रत बस्ने/नबस्ने, रजस्वला बार्ने/नबार्ने, गोडाको पानी खाने/नखाने जस्ता प्रश्नहरूमा देखिने मतभेद यस्तै सांस्कृतिक अन्तरालको संक्रमण हो । यस्तो संक्रमणबाट पार हुन समाजलाई समय लाग्छ । तर रोचक के छ भने त्यो संक्रमणबाट पार हुँदा नहुँदै समाज अर्को संक्रमणमा पसिसकेको हुन्छ । 

आजको सन्दर्भमा हामीमध्ये कुन त्यस्तो महिला छौं होला आफ्नो पति, परिवार र सन्तानका लागि राम्रो नसोच्ने ? सबैले भलाई नै सोचेका हुन्छौं । हो त्यो नै एक प्रकारको व्रत हो । कसैको लागि मनदेखि नै राम्रो सोच्नु नै व्रत हो । केही नबोली बस्नु त व्रत (मौनव्रत) हुन्छ भने अरुको भलो चाहनु झनै ठूलो व्रत हो । कसले कुन हदसम्मको व्रत वस्ने हो त्यो आफ्नै ईच्छा र विवेकमा अथवा सांस्कृतिक अन्तरालमा भर पर्ने कुरा हो । 

मुख्य कुरो सदासयता हो । हामीले सर्वे भवन्तु सुखिनः को मर्म आत्मसात गर्न सक्यौं कि सकेनौं भन्ने हो । तर यहाँ त मैले गरेको मात्रै ठीक भन्ने प्रवृत्ति देखियो । यसरी फरक विचारलाई निषेध गर्न खोज्नु, त्यो पनि गाली गलौजको भाषामा, चाहिँ सरासर गलत हो । चाहे त्यो व्रतको सवालमा होस्, चाहे गोडा धुने सवालमा होस् वा ‘एलिजा–डान्स’कै सवालमा किन नहोस् । आफू मनपरि गरेर हिँड्ने र अरुले प्रश्न उठाए भने गाली गलौजमा उत्रने तरिका स्वतन्त्रताको नाममा छाडातन्त्र मात्र हो । यसबाट संस्कृतिको प्रवर्धन होइन, संस्कृतिमाथि नै प्रहार हुनेछ ।    

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ