मिलन समीरद्वारा लिखित काव्य कृति “प्रिय दुश्मन” को शनिबार एक साहित्यिक कार्यक्रमका बिच लोकार्पण गरिएको छ। वालिङ प्रज्ञाप्रतिष्ठानको आयोजनामा वालिङमा भएको उक्त लोकार्पण कार्यक्रममा जिल्लाका प्रतिष्ठित साहित्यिक एवं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काव्यकृति “प्रिय दुश्मन” को साहित्यकार देवीप्रसाद वनवासी, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठ र कविका मातापिताले सयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।
काव्यकृतिमाथि साहित्यकार लक्ष्मण वियोगी र लेखक सञ्जीव पौडलले समीक्षा प्रस्तुत गर्नुभएको थियो । साहित्यकार लक्ष्मण वियोगीले प्रिय दुश्मनभित्र मानवताको भावना उजागर गर्न खोजिएको तथा मान्छेलाई मान्छेकै रुपमा स्वीकार्नका लागि आवाज उठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजका खराब प्रवृत्तिहरूलाई निरन्तर सुधार गर्दै लैजान सकिने एउटा अठोट एवम् नराम्रोमा चेतनाको पाइन हालेर राम्रो बनाउन सकिने गतिशील शृङ्खला कविताको सबैभन्दा बलियो पक्षको रूपमा उभिएको छ ।”
समीक्षात्मक टिप्पणी गर्दै युवा साहित्यकार सञ्जिव पौडेलले भन्नुभयो, ‘प्रिय दुश्मन’ काव्य कृतिका ३१ वटै कविताले समाजको बेथितिको चित्रण सँगसँगै र माटोको मायालाई पनि अभिव्यक्त गरेका छन् । एउटै शीर्षकमा शृङ्खलाबद्ध रूपमा ३१ वटा कविता लेखिएकाले काव्यकृतिमा प्रयोगधर्मीता पनि पाइन्छ। कवितामा देशप्रेमका साथमा विद्रोह पनि पाइन्छ।”
कवितामा व्यक्त भएको विद्रोहको चेतनालाई बोक्ने उपयुक्त भाव र भावअनुसारका उपयुक्त शब्दावलीको प्रयोग नहुँदा कविता सोचेजस्तो बन्न नसकेको पौडेलको टिप्पणी थियो । उनले कवितामा कर्णकटु शब्दावलीको बढी प्रयोग गरिएकाले लालित्य भाव पैदा हुन नसक्दा कविता केही कमजोर बन्न पुगेको बताउनुभएको थियो ।
प्रमुख अतिथि नेपाल लेखक सङ्घका अध्यक्ष वरिष्ठ कवि एवम् संस्कृतिविद् तिर्थ श्रेष्ठले युवा साहित्यकार मिलन समीरको काव्ययात्रको सफलताको शुभकामना व्यक्त गर्दै साहित्य क्षेत्रप्रतिको समिरको लगाव, मिहिनेत र क्रियाशीलताको प्रशंसा गर्नुभएको थियो । उहाँले स्याङ्जामा साहित्यक प्रतिभाका रुपमा मिलन समिरको व्यक्तित्व बनेकोमा आफू खुसी रहेको बताउनुभयो । उहाँले ‘प्रिय दुश्मन’ कविता कृति प्रकाशन गरेर समिरले आफ्नो क्रियाशीलतालाई प्रमाणित गरेको बताउनुभयो ।
कवि श्रेष्ठले आजभोलि कविताहरु कविता जस्ता हुन नसकेका, साहित्यकारले आफ्नो ओज र गरिमा जोगाउन नसकेका, पुरस्कार र माला साटासाट गरेर बाँडीचुँडी खाने वस्तु बनाएको भन्दै वर्तमान समयमा साहित्यिक क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिप्रति गहिरो चासो र चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले साहित्यकारको चेतना राजनीतिकर्मीलाई सुधार्ने र सिङ्गो राष्ट्रलाई बाटो देखाउने हुनुपर्नेमा साहित्यकारहरु राजनैतिक दलका नेताको चाकडीमा लाग्नु दुःखद् भएको बताउनुभयो ।
सो कृति लोकार्पण कार्यक्रममा कवि चिन्तु गिरी, कमला अधिकारी, बालकुमार क्षेत्री, मनिषा कोइराला, भोजकुमारी पाण्डे लगायतका साहित्यकारहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो। कार्यक्रममा वालिङ नगरका पूर्व प्रमुख भोजराज अर्याल, वालिङ नगरपालिकाका निवर्तमान प्रमुख दिलिपप्रताप खाँड, पत्रकार महासङ्घका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोइराला लगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रम वालिङ प्रज्ञा प्रतिष्ठानका संयोजक साहित्यकार देवीप्रसाद ‘वनवासी’ को सभापतित्व र कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन वालिङ साहित्य प्रतिष्ठानका सचिव साहित्यकार शम्भु अर्यालले गर्नुभएको थियो ।