Comments Add Comment

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मनायो जनआन्दोलन दिवस

काठमाडौं । ‘क्रान्तिकारी परम्पराको स्मरण गरौं, ३५औं जनआन्दोलन दिवस भव्य रुपमा सम्पन्न गरौं !’ नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंमा जुलुससहितको जनसभा सम्पन्न गरेको छ । जनआन्दोलन दिवसको अवसरमा सो सभा आयोजना गरिएको हो ।

पार्टीको ९ नं ब्यूरोले आयोजना गरेको सभालाई पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवले सम्बोधन गर्नुभएको थियो । उहाँले जनसभालाई सम्बोधन गर्दै विगतमा भएका क्रान्तिकारी आन्दोलन र युद्धबाट प्रेरणा लिएर अर्को क्रान्तिको तयारी गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

अहिलेको राज्यव्यवस्थामा दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र बँचेखुचेको सामन्तवर्गको एकाधिकार रहेको चर्चा गर्दै कथित लोकतान्त्रिक गणतन्त्र जनताको व्यवस्था नभएको पुष्टि १७ वर्षको अभ्यासबाट स्पष्ट भइसकेको गौरवले बताउनु भयो । उहाँले अढाई सय वर्ष लामो सामन्ती निरंकुश राजतन्त्र त जनताको लागि कालरात्री भएको, बर्बर मध्ययुगीन शासन भएको भन्दै नेपाली जनताले बर्षौदेखि भोग्दै आएको समस्याको समाधान यी दुवै (सामन्ती राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र) व्यवस्थाले गर्न नसक्ने भएकोले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘जनगणतन्त्र’को नारा अगाडि सारेको उहाँले दाबी गर्नुभयो ।

उहाँले जनताले साथ दिएमा अबको क्रान्ति सान्दार रुपमा सफल हुने र क्रान्तिबाट स्थापित जनगणतन्त्र नै वास्तविक श्रमजीवी शोषित उत्पीडित जनताको गणतन्त्र हुने कुरा प्रष्ट पार्नुभयो । उहाँले देशमा उत्पन्न राजनीतिक संकटमोचनका निम्ति अब छरिएर रहेका क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर अग्रगामी तथा क्रान्तिकारी विकल्पमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको पनि औल्याउनु भयो ।

उहाँले भन्नुभयो, “अहिले देशमा युवाहरु छैनन्, सबै विदेशिएका छन् । देश वृद्धाश्रममा परिणत हुने स्थिति भयो भनेर चिन्ता गर्न थालेका छन् । वैदेशिक रोजगारीमा नजाने हो भने भोकभोकै बस्नुपर्ने स्थितिमा देशलाई पु¥याइएको छ । देशमा महिनैपिच्छे युवाहरुको संख्या घटिरहेको छ । अहिलेको सरकारले जनताको समस्या हल गर्न सकेन । पहिले एउटा राजा थियो, अहिले सयौं राजा भए ।”

उहाँले अगाडि भन्नुभयो, “अहिले जनता दिग्भ्रमित भएका छन् । लोकतान्त्रिक गणतन्त्रले पनि समस्याको हल गरेन । राजतन्त्रले समस्याको समाधान गरेन भनेर नै राजतन्त्रलाई हटाएर लोकतान्त्रिक गणतन्त्र ल्याएको हो । अब यी दुवैले जनताको समस्याको समाधान गर्न नसक्ने स्पष्ट भइसकेको छ । यो पटक-पटक पुष्टि भइसकेको कुरा हो । अब यी दुवै व्यवस्थाको विकल्पको खोजी जनताले गरेका छन् । हामीले त्यो उपयुक्त विकल्प अगाडि सारेका छौं । त्यो विकल्प भनेको जनगणतन्त्र हो । अहिले हामीले जनसम्बन्ध अभियानमार्फत् देशैभर जनगणतन्त्रको बहसलाई उठाइरहेका छौं । जनताको घर घरमा पु¥याइरहेका छौं ।”


उहाँले संसदवादी पार्टीहरुले अहिलेको संविधानलाई समाजवादउन्मुख भनेर जनतालाई दिउसै रात पारिरहेको टिप्पणी गर्दै उहाँले अहिलेको जस्तो भ्रष्ट व्यवस्थाको संविधानलाई समाजवाद उन्मुख भनेर समाजवाद पनि भ्रष्ट व्यवस्था रहेछ भन्ने जनतामा पर्न गएको बताउनु भयो । अहिले संसदवादीहरुले भन्ने गरेको व्यवस्था समाजवादी नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले अहिलेको जस्तो भ्रष्टाचार देशमा कहिल्यै नभएको भन्दै अब यो भ्रष्ट व्यवस्था फालेर जनताको गणतन्त्र ल्याउनुपर्ने र त्यसका लागि फेरि अर्को क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

जनसभालाई सम्बोधन गर्दै पार्टीका नेता तथा क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङले भन्नुभयो, ‘नेपालको कूल बजेटमध्ये केवल २० प्रतिशत मात्रै विकास बजेट भनेर छुट्याइन्छ । त्यसमा पनि ४० प्रतिशतसम्म त संस्थागत रुपमा नै भ्रष्टाचार हुन्छ ।, त्यो पनि असार महिनामा खर्च गरिन्छ । एक महिने विकासले कहिल्यै देश बन्छ ?’ उनले भने- 'यो भ्रष्ट व्यवस्था फालेर जनताको व्यवस्था ल्याएपछि मात्रै जनताले भोगिरहेका समस्याको समाधान हुन्छ ।'

त्यसैगरी अर्का वक्ता तथा अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पवनमान श्रेष्ठले देशका शोषित उत्पीडित उपेक्षित जाति, जनजाति, मधेसी, महिला, दलित, मुस्लिम लगायत सबैको वास्तविक मुक्तिका निम्ति देशमा संघीय जनगणतन्त्र आवश्यक रहेको, विगतमा भएका ऐतिहासिक जनआन्दोलन, युद्धबाट उर्जा र उत्प्रेरणा लिदै क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रमको अध्यक्षता ९ नं व्यूरोका सचिव चिन्तामणि पौडेलले गर्नुभएको कार्यक्रमको सञ्चालन युवा नेता पेशल दाहालले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका १० नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

जनसभा सुरु हुनुअघि असनबाट र्‍याली निकालिएको थियो । असनबाट निकालिएको र्‍याली, इन्द्रचोक, विशालबजार हुँदै न्यूरोडको पीपलबोटमा पुगेर जनसभामा परिणत भएको थियो ।

त्यस्तै केन्द्रबाट गठित चारवटै अभियान टोली, प्रदेश र जिल्लामा पनि जारी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत आइतबार विभिन्न कार्यक्रम गरी ३५ औं जनआन्दोलन दिवस मनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ