चितवन । चार वर्ष लगाएर भरतपुरमा ६ लेनको ६ किलोमिटर सडक निर्माण पूरा भएको छ ।
वि.सं. २०७७ असोज २६ गते ठेक्का सम्झौता भएको नारायणगढको पुलचोकदेखि पूर्वतर्फ गोन्द्राङसम्मको सडक एशियन मापदण्डमा निर्माण सम्पन्न भएको हो ।
निर्माण सकिएपछि यो सडक सुन्दर देखिएको छ । पश्चिम नेपालबाट नारायणी नदी तरेपछि र पूर्वी क्षेत्रबाट टिकौली जङ्गल कटेपछि यो सडक प्रवेश गर्दछ ।
सडक विस्तारका क्रममा विभिन्न झन्झट पाएको सगुन कन्स्ट्रक्सन प्रालिले दुई वर्ष चार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको थियो । म्याद थप गर्दै चार वर्ष लगाएर गत पुसमा काम सम्पन्न भएको हो । सडकलाई थप सौन्दर्य दिने काम भरतपुर महानगरपालिकाले गर्दै आएको छ ।
निर्माणको ठेक्का पाएको सगुन कन्स्ट्रक्सनका नकुल खड्काले विस्तारको काममा धेरै अवरोध आए पनि सम्पन्न गर्न सकेको बताए । कोभिड महामारी, निर्माण सामग्री अभाव, सरकारले बजेट निकासमा गरेको ढिलाइ, खानेपानीको पाइप लाइन तथा नारायणगढ बजार क्षेत्र तथा भरतपुर विमानस्थलअगाडिका घर तथा टहरा भत्काउँदा भएको समस्याले गर्दा समयमा नै काम सम्पन्न गर्न समय लागेको जानकारी दिए ।
एक अर्ब १२ करोड रुपियाँमा काम सम्पन्न गर्ने गरी सडक विस्तारको सम्झौता भएको सडक पछि लागत बढेर एक अर्ब ७६ करोड रुपियाँ पुगेको थियो । पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बिचमा चार लेन र दुवै साइडतर्फ थप एक एक सर्भिस लेन तयार पारिएको छ । सडक विस्तारसँगै दुवैतर्फ छ सय सडकबत्ती जडानको काम पनि सकिएको छ । रातको समयमा बत्ती बल्दा विकसित देशको झल्को दिने गर्दछ ।
भरतपुरबाट नारायणगढ झर्ने ठाडो ओरालो काटेर त्यसको स्लोप घटाइएको छ । भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । जसले दुर्घटनाको जोखिमसमेत कम भएको निर्माण कम्पनीको दाबी छ । ५० मिटर चौडाइ रहने छ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुलीको तार भूमिगत गरिएको छ । चौबिसकोठीदेखि भरतपुर ओरालोसम्मको सडकको पानी लायन्सचोकको खोलामा र चौबिसकोठीदेखि बसपार्कसम्मको पानी केरुङ्गा घोलमा लैजाने गरी ढल तयार गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।
निर्माण सकिए पनि पाँच वर्षसम्म सडक बिग्रिएमा मर्मतको काम ठेकेदारले नै गर्नुपर्ने सम्झौतामा रहेको सगुन कन्स्ट्रक्सनका खड्काले बताए । सडकको कालोपत्रे अन्तर्राष्ट्रिय गुणस्तरको गरिएको निर्माण कम्पनीले बताएको छ । १० एमएमको डिबिएम, चार एमएमको अस्पाल्ट गरिएको छ ।
सडकको दायाँबायाँ ११.५/११.५ मिटर कालोपत्रे गरिएको छ । त्यसको बिचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि छ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । मेडियनमा दुबो लगाउने र आकर्षक फूलका बिरुवा रोप्ने काम भएको छ । बजार क्षेत्रमा भने दुबो लगाउने र बिरुवा रोप्ने काम अझै बाँकी छ ।
बिचको मेडियन र सर्भिस लेनको डिजाइन विभिन्न ठाउँमा फरक फरक रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काले बताए । सडकमा ट्राफिक चिह्न राख्ने, जेब्राक्रस लगायत लाइनिङका कामले सडक आकर्षक देखिएको छ । सौन्दर्यीकरणको काम भने अहिले पनि जारी रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ बनाइएको छ । फुटपाथमा गाडी राख्ने, धुने जस्ता कामले यात्रुलाई असहज भएको देखिन्छ ।
सडक विस्तार गरेपनि लेन अनुसारको सवारी चलाउने काम अझै भएको छैन । स्थानीय रुटमा चल्ने सवारीलाई सर्भिस लेनबाट चलाउनुपर्नेमा मुख्य सडक क्षेत्रमा नै अटो, म्याजिक तथा स्थानीय रुटका सवारी गुडिरहेका छन् ।
एसियन मापदण्ड अनुसार विशेष गरी सहरी क्षेत्रमा बिच सडकको ५० मिटरबाहेक दायाँबायाँ दुई लेनको सर्भिस सडक बन्छ । बिचको चार लेन द्रुतमार्गको हुने छ । बिचको सडक द्रुतमार्ग भएका कारण सहरी क्षेत्रमा दायाँबायाँ दुई लेन सर्भिस रोड निर्माण हुन्छ । एडिबी आयोजना निर्देशनालयका अनुसार यसबाहेक फुटपाथ र ड्रेनसमेत बन्ने छ ।
विसं २०७७ माघ १७ गते सडक विस्तारको शिलान्यास भएको थियो ।
