काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारमाथि भूमिहीन र सुकुम्बासीको अधिकारको बेवास्ता गरिएको तर माफिया एवम् दलालमैत्री नीति अघि बढाएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले सरकारको ध्यान बिचौलिया र माफियाहरूका सेवामा केन्द्रित भएको बताए । 'एउटा इगो पूरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिङलाई हटाईयो । कुलमानलाई समर्थन गरेको झोँकमा आफ्नै मन्त्रीलाई निष्कासित गर्नुभयो । बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरूलाई खुसी पार्नुभयो । तर त्यहीँनेर अघिल्लो सरकारले ५ लाख भूमिहीन, सुकुम्बासीहरूलाई जग्गाको स्वामित्व दिने कुराको चिन्ता तपाईंहरूमा पलाएन ? अहिले पनि निकै कञ्जुस्याइँ गरेर नीति कार्यक्रममा उनीहरूको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेख्नुभएको छ । तर, माफियाहरूका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापन ? त्यसै पनि पत्याउने आधार बाँकी राख्नुभएको छ ?,' प्रचण्डले भने । अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रममा भूमिहीनको व्यवस्थापनका लागि एक लाइन मात्र लेखिएकोमा असन्तुष्टि व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका विपक्षी दल नेकपा माओवादी केन्द्रका नेता प्रचण्डले भने- 'भूमिहीनको अधिकारलाई त्यति हल्का लिँदा माफियाका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याउन सरकारको के आधार छ ?'