इलाम। इलामको देउमाई नगरपालिकामा देउमाई चलचित्र पर्यटन महोत्सव हुने भएको छ । ‘पर्यटन प्रबर्द्धनका लागि सिनेमा’ भन्ने नाराका साथ महोत्सब आयोजना हुने भएको हो। वैशाख २९, ३० र ३१ गते सम्म महोत्सव आयोजना गरिने आयोजक नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले जानकारी दिए।
कोशी प्रदेश सरकारले भरखरै कोशीमा कोशी पर्यटन वर्ष २०८२ घोषणा गरेको छ । सोही पर्यटन वर्षलाई समेत टेवा पुग्ने गरि महोत्सबहरु बाक्लो संख्यामा कोशीमा हुन थालेका छन्। नयाँ वर्ष सुरु भएसँगै पूर्वी पहाडी क्षेत्रमा पर्यटन प्रबर्द्धनजन्य कार्यक्रमहरु बाक्लो हुन थालेका छन् । कोशी प्रदेश सरकारले पनि यस्ता कार्यक्रमहरुको आयोजनाको आह्वान गरेको छ । गएको वैशाख १-४ मा मात्र देउमाईकै पानीटारमा देउमाई कृषि तथा पर्यटन महोत्सव २०८२ सम्पन्न भयो । इलाम पर्यटकीय जिल्ला हो। यहाँ यस्ता पर्यटनजन्य गतिविधि र कार्यक्रम वर्षेनी बाक्लो संख्यामा भईरहन्छन्।
चियाबारीको राजधानीले परिचित जिल्ला इलाममा चलचित्र छाँयाङकन समेत बढिरहेको छ । अहिले देउमाईकै पानीटार क्षेत्रलाई निर्माता, निर्देशकले रोज्न थालेको छ । गएको २ वर्ष अघि मात्र चलचित्र ‘कृष्ण लिला’ र ‘म यस्तो गीत गाउँछु-२’ पानीटारमै छायाँकन भए । २९-३१ मा आयोजना हुने चलचित्र महोत्सबमा चलचित्र प्रर्दशनी, सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, चलचित्र र पर्यटन सम्बन्धि अन्तर्क्रिया, सिनेमासम्बन्धि फोटो प्रर्दशनी, स्थानीय उत्पादनका स्टलहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ।
