काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको महाधिवेशनको मिति निश्चित नहुँदै महरले यस्तो घोषणा गरेका हुन् ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष महर गत महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवम् कांग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत हुन् ।
महरले महामन्त्रीमा उमेदवारी घोषणा गर्दै ‘मिसन महामन्त्री’ अभियान नै बनाई प्रचार सुरु गरेका छन् ।
पार्टीको महाधिवेशनको समय सार्ने मनोवृत्ति अन्त्य हुनुपर्ने माग सहित महरले उम्मेदवारी घोषणा गरेको बताएका छन् । राजनीति गर्नेले माथिल्लो पदमा पुग्नका लागि क्रियाकलाप गर्नु स्वभाविक हुने भएकाले आफूले महामन्त्री पदमा दाबी गरेको उनले बताएका छन् ।
चार वर्षभित्र महाधिवेशन हुने हुँदा आउने मंसिरबाट निर्वाचित कार्यसमिति आउनुपर्ने हुन्छ । विधानले एक वर्षे अवधि थप्न सकिने व्यवस्था गरेको छ । पार्टीभित्र नियमित समयमै महाधिवेशन हुनुपर्ने र मंसिरभित्र १५ औं महाधिवेशनको हुने सम्भावना नरहेको दुई थरी मत छन् । ‘नियमित समयमा महाधिवेशन गर्न अहिले भन्दा १० गुणा बढी काम गर्नुपर्दछ । अहिले दबाब सिर्जना गर्न सकिएन भने महाधिवेशन समयमा हुनसक्दैन,’ महरले सञ्चारकर्मीसित भने । महरले १६५ निर्वाचन क्षेत्रमै पुगेर पार्टीका काम र प्रचारमा लाग्ने समेत बताए ।
नेपाली कांग्रेसमा महामन्त्रीका लागि आकांक्षा राख्ने धेरै भएपनि सार्वजनिक रुपमा बोल्ने महर पहिलो व्यक्ति हुन् । विधान अनुसार कांग्रेसमा दुई महामन्त्रीको व्यवस्था छ ।
