काठमाण्डौं। नेप्से परिसूचकले २७ सय विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। बिहीबार एकाध पटक २७ सय विन्दु पुग्दै नेप्से ओर्लियो। लगानीकर्ताहरू बैंकिङ क्षेत्रमा आकर्षित भएका छन्। राष्ट्र बैंकमा नयाँ गभर्नर आएसँगै बैंकिङ क्षेत्र बढ्नुले लगानीकर्ताहरू उनीप्रति आशावादी देखिएको अर्थ लागाइएको छ। बैंकिङ क्षेत्र बढेकै कारण नेप्सेको वृद्धि कायम रह्यो।
आज नेप्से १९.४० अंकले बढेर २६८८.९१ विन्दुमा बन्द भएको छ। तर लगानीकर्ताहरूमा देखिएको आशा अनुरूप अर्थतन्त्र र बैंकिङ क्षेत्र सुधारका काम अगाडि बढेमात्रै नेप्सेको वृद्धि दिगो हुन्छ।
यसदिन कारोबार रकम भने केही घटेको छ। बुधबार १० अर्ब ६९ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ९ अर्ब ८२ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८७ करोड रूपैयाँ कमी आएको हो। आज ३१४ वटा धितोपत्रको दुई करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच भएको हो। बिहीबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर रहेको छ।
यसदिन ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २४ रूपैयाँ ३० पैसा पुगेको छ। एनआइसी एसिया बैंकको मूल्य ८।११ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३७२ रूपैयाँ कायम भएको छ।
बराही हाइड्रोपावरको मूल्य सर्वाधिक ९।९९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २१ रूपैयाँ ६० पैसामा झरेको छ। एमबिएल इक्विटी फण्डको मूल्य ९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९ रूपैयाँ १० पैसा कायम भएको छ।
बिहीबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ३७९ रूपैयाँमा ६९ करोड ०१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
