पितृसत्ताको गहिराइभित्र पसेर जब हामी समाजलाई नियाल्छौं, त्यहाँ एक गम्भीर विरोधाभास भेटिन्छ—नारी र पुरुषबिचको सम्बन्ध। जन्मिँदा एउटै घरको आँगनमा खेल्ने, एउटै बाटो हिँड्ने, एउटै सपना बाँड्ने ती बालक र बालिका, आखिर ठुलो हुँदा किन एकअर्काको विरोधी जस्ता देखिन्छन्? के पितृसत्ताको संरचनाले मित्रतालाई प्रतिस्पर्धामा, मायालाई डरमा र सहकार्यलाई नियन्त्रणमा बदलिदिन्छ?
पितृसत्ताले पुरुषलाई शक्तिको मूर्ति बनायो र महिलालाई सहनशीलताको। पुरुष रोए भने कमजोर ठानियो, महिला बोले भने पाेथी बासेकाे भनियो। यसरी नै बनाइयो विभाजन—लैंगिक भूमिकाको, अवसरको, अधिकारको। तर के यो दुश्मनी नारी र पुरुषबिच हो त? कि दुश्मन सोच हो जसले पुरुषलाई शक्तिको सिंहासनमा राख्न खोज्छ र महिलालाई सधैं परनिर्भर बनाइरहन्छ?
यथार्थ के हो भने नारी र पुरुषको सम्बन्ध जन्मजात साझेदारीको हो। हरेक पुरुषको अस्तित्व एक महिलाबाट सुरु हुन्छ र हरेक महिलाको जीवनमा कुनै न कुनै पुरुषको भूमिका रहन्छ। पितृसत्ता नारीको मात्र शत्रु होइन, यो पुरुषको पनि परोक्ष शत्रु हो। यसले पुरुषलाई ‘मर्द भएर बाँच्नु पर्छ’ भन्ने झुटा घेराभित्र थुनिदिन्छ। न रुन दिन्छ न त पीडा व्यक्त गर्न सक्छन् पुरुष पनि।
पितृसत्ता फेरि किन नारी र पुरुषलाई एकअर्काको सहयोगी होइन, एकअर्काको प्रतिस्पर्धी बनाउँछ? जब नारीले स्वतन्त्रताको सपना देख्छिन्, कतिपय पुरुष डराउँछन्—किनभने समाजले सधैं उनलाई नियन्त्रण गर्ने अधिकार दिइरहेको थियो। तर त्यो डर नारीको कारण होइन, त्यो डर पितृसत्ताको भ्रमको परिणाम हो।
साँचो परिवर्तन त्यही दिन सुरु हुन्छ, जब नारी र पुरुष दुश्मन होइन, साथी भएर उभिन्छन्—एकअर्काको पीडा बुझ्ने, बराबरीको सपना बाँड्ने र सामाजिक संरचनालाई बदल्ने सङ्कल्प लिएर। जब पुरुषले महिलाको स्वतन्त्रतालाई समर्थन गर्छन् र महिलाले पनि पुरुषको पीडालाई देख्न थाल्छन् तब मात्र पितृसत्ताको जरो हल्लिन थाल्छ।
नारी र पुरुषको सम्बन्ध जन्मजात साझेदारीको हो। हरेक पुरुषको अस्तित्व एक महिलाबाट सुरु हुन्छ र हरेक महिलाको जीवनमा कुनै न कुनै पुरुषको भूमिका रहन्छ।
नारी र पुरुष दुश्मन होइनन्, उनीहरू त एउटै वृक्षका दुई शाखा हुन्—उस्तै घाम, उस्तै हावा, उस्तै वर्षन झेल्दै बढ्ने। दुश्मन त त्यो प्रणाली हो, जसले उनीहरूलाई टाढा राख्न खोज्छ। अब समय आएको छ—साथी भएर त्यो प्रणालीलाई परिवर्तन गर्ने, ताकि भविष्यको पुस्ताले पितृसत्ताको सन्दर्भ पढ्न नपरोस्, बरु समानताको जीवन जिउन पाओस्।
नारीवादी पुरुष हुन सक्छन् र पितृसत्तात्मक साेच नारीमा पनि हुन्छ भन्ने बुझ्नु जरुरी छ । नारी र पुरुष एकअर्काका दुश्मन होइनन्, उनीहरू साझेदार हुन्, सहयात्री हुन्। दुश्मन त त्यो सोच हो, जसले सधैं एकलाई माथि राख्न अर्कोलाई तल राख्ने प्रयास गर्छ। पितृसत्ताकाे विराेध महिलाफे गर्नु पुरुषकाे विराेध गर्नु हाेइन, जीवनबाटै पुरुषलाई उपेक्षा गर्नु हाेइन, नारीवादीकाे समर्थन गर्नु नारीलाई शिरमा चढाउनु हुँदै हाेइन, मानव भएर बाँच्ने अवसर र सम्मान प्रदान गर्नु हाे । समानता र सहअस्तित्वकाे जीवन मिल्नु हाे । केही नारीवादी उग्र भएर पुरुषविनाकाे सम्बन्ध र समाजमा रमाउने सपना पाल्छन्, त्यही मार्ग चुन्छन् भने त्यसमा हामीले केही भन्नू छैन तर अपवादलाई लिएर सबै नारीवादी (महिला तथा पुरुष) माथि आराेप लगाउनु आपत्तिजनक छ । नारी मात्रै नभएर पितृसत्तात्मक व्यवस्थामा पुरुषमाथि पनि अन्याय भइरहेकाे सन्दर्भमा त्यस सोचसँग मिलेर लड्न नारी र पुरुषले हातेमालो गर्नु अत्यावश्यक छ, दुश्मनी साँधेर हाेइन ।