रोल्पा । मध्य रोल्पालाई दाङको घोराहीसँग जोड्ने बाजाबाङ खोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सो पुल निर्माण भएसँगै रोल्पा सदरमुकामलाई दाङ सदरमुकामसँग जोड्ने सबभन्दा छोटो दुरी हुनेछ ।
लिवाङ, सल्लीबोट, धौलावाङ सडक खण्डमा पर्ने बाजाबाङ खोला पुल रोल्पा नगरपालिका वडा नं.ं १ र ५ मा पर्दछ । ४५ मिटर लम्बाइको उक्त पुल फुटपाथसहित १० मिटर चौडा रहेको छ । पुल निर्माणका लागि जानकी निर्माण सेवा सिर्प रोल्पासँग २०८० साल असार २० गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ साल पुस १९ गते कार्यसम्पन्न गर्नुपर्नेमा सो समयमा आयोजना सम्पन्न नभएपछि २०८२ असार १५ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौता बमोजिम निर्माण कम्पनीले यसै वर्षको असार मसान्तभित्र आयोजना सम्पन्न गर्नुपर्नेछ ।
भ्याटसहित आठ करोड ६२ लाख ४३ हजार चार सय छ रुपैयाँ लागतको उक्त आयोजनाको हालसम्म ८४ प्रतिशत वित्तीय र ९० प्रतिशत भौतिक प्रगति भइसकेको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका कार्यालय प्रमुख इन्जिनियर हेमन्त रोकाले जानकारी दिनुभयो । रोल्पालाई दाङसँग जोड्न तीनवटा घोरेटो बाटाहरु निर्माण गरिएका थिए । कालान्तरमा मोटर बाटो बनाउने उद्देश्यका साथ निर्माण गरिएका ती घोरेटो बाटामध्ये घोराही दुईखोली, राम्चे, उघा, लिबाङी आँप, कोछाप बाजाबाङ कालीमाटी हुँदै सदरमुकाम लिबाङ जोड्ने घोरेटो बाटो थियो । यो बाटोले मध्य रोल्पालाई दाङसँग जोड्ने काम गरेको थियो ।
हाल सो सडकमा पुल निर्माणको काम भइरहे पनि सडक निर्माणले भने गति लिन सकेको छैन । २०४२ सालदेखि ट्रयाक खोल्न शुरु गरिएको सो सडक निर्माण आरम्भ गरिएको करिव ४० वर्षपछि निर्माण सम्पन्न हुने आशामा रहेको स्थानीयवासी चूडामणि शर्माले बताउनुभयो । जिल्लाका अन्य सडकको तुलनामा यो सडकले महत्व पाउनुपर्नेमा राजनीतिक पहँुच नहुँदा निर्माण कार्य ढिलाई भएको उहाँको भनाइ छ । हाल सो सडकखण्ड अन्तर्गत बाजाबाङदेखि घोराहीसम्म बस सेवा सञ्चालनमा रहेको छ । बाजाबाङ लिबाङ खण्डमा वस सञ्चालनका लागि बाजाबाङ खोलामा पक्की पुल निर्माण भइरहेको छ । सो पुल तयार भएसँगै लिबाङबाट बाजाबाङ हुँदै घोराही जानका लागि रोल्पाको सबैभन्दा छोटो दुरीको सडक हुने बताइन्छ । उक्त सडक करिव ६५ किलोमिटर दुरीमा रहेको छ ।
यसैगरी घोराही दुईखोली होलेरी हुँदै रुकुमको चुनबाङ जोड्ने अर्को घोरेटो बाटो थियो । सो घोरेटो बाटोले पश्चिम रोल्पालाई दाङको घोराहीसँग जोड्ने गर्दथ्यो । यो घोरेटो बाटो हाल सहिद मार्गको रुपमा विकास गरिएको छ । सशस्त्र युद्धताका तत्कालीन बिद्रोही नेकपा माओवादीले घोषणा गरेको मगरात प्रदेशका झण्डै १० जिल्लाका जनताले श्रमदान गरी ट्रयाक खोलेको सो सडक शान्ति प्रक्रियापछि सहिद मार्गको रुपमा विकास भई हरेक वर्ष बजेटसमेत विनियोजन हँुदै आएको छ । सो सडकको विभिन्न खण्डमा हाल कालोपत्रेको काम भइरहेको छ ।
रोल्पालाई दाङसँग जोड्ने अर्को घोरेटो बाटोको रुपमा घोराही दुईखोली, राम्चे, धौलाबाङको तल्लो बाटो मसिना सुर्पाल, घोडाखोला, किमीचौर हुँदै सुलीचौर जोड्ने बाटो थियो । यो बाटोले पूर्वी रोल्पालाई दाङसँग जोड्ने काम गरेको थियो । सो सडक हाल प्राथकितामा छैन । दाङको भालुबाङबाट प्युठानको चकचके हुँदै रोल्पा जोड्ने सडक निर्माण भएसँगै उक्त बाटो निर्माण कार्य प्राथमिकतामा नपरेको हो ।
पञ्चायतकालमै यी बाटाहरु गाडी चल्ने गरी ट्रयाक खोल्ने कामको शुरुवात गरिएको थियो । यी तीनवटा सडक मार्फत् सिधै रोल्पा दाङ जोडिएका थिए । रोल्पाको मुख्य बजार केन्द्र दाङको घोराही रहेको थियो । नुनदेखि सुनसम्म सबै घोराहीबाटै खरिद गर्ने रोल्पालीले जडीबुटी, सिमी, भाङो तथा घिउ बिक्री गर्ने बजार पनि घोराही नै थियो ।
