Comments Add Comment

वंशवादमा आधारित निरंकुश राजतन्त्र सम्भव छैन : प्रचण्ड

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा वंशवादमा आधारित निरंकुश राजतन्त्र अब असम्भव भएको बताएका छन् ।

मंगलबार गोरखास्थित भीमसेन थापा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उनले २१औँ शताब्दीको युगमा निरंकुशतन्त्र र वंशवादलाई जनताले स्वीकार गर्न नसक्ने बताए। नेपाली जनताले युद्ध र आन्दोलनबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले फर्काउन नसक्ने उनको भनाइ थियो।

'राजावादी आन्दोलनका नाममा तीनकुने घटनापछि एउटा पात्र पछाडि राखेर फेरि अर्को पात्र सिँगारपटार गरेर अगाडि ल्याउन खोजिएको छ,' उनले भने, 'यही १५ गतेदेखि फेरि आन्दोलनको कुरा गरिरहेका छन्, त्यो सफल त हुनेवाला छैन, तर पनि हामी सजग त हुनुपर्छ।'

अध्यक्ष प्रचण्डले जनतामा नैराश्य बढाउने काम नगर्न आफूहरूले सरकारलाई पनि निरन्तर खबरदारी गर्दै आएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा गुणात्मक सुधार भएको उनले उल्लेख गरे । यसलाई थप सुदृढ गर्दै लैजानुपर्नेमा उनले जोड दिए। शान्ति, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति नेपाली कांग्रेस र माओवादीबीच ऐतिहासिक सम्बन्ध बनेको भन्दै उनले शान्तिलाई दिगो बनाउन दुई दल मिलेर जानुको विकल्प नभएको बताए।

'राजनीति र अरू कुरामा आफ्ना–आफ्ना फरक मत र विचार भए पनि शान्ति सम्झौतालाई दिगो बनाउन हामी मिलेर जानुको विकल्प छैन,' उनले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ