नानीबाबुलाई शिक्षा
-अजित उत्सव
मास्टर साब !
घामका कलिला पाइला टेक्दै
विद्यालय आइपुगेका यी बालबालिकालाई
के सिकाउनु भएको छ तपाईंले ?
सिकाउनुस् - जीवनको लय
जसलाई गाउँदै यी बालबालिकाहरु
गर्न सक्नेछन् दु:खका उकाली ओराली
कोरिदिनुस् - शिक्षाको गोरेटो
बाँकी बाटो आफैँ बनाउँदै
जुनकिरी झैं आफ्नै उज्यालोमा
एकदिन यिनीहरू
पुग्नेछन् सफलताको सगरमाथा
कलिला गोडाहरु हिंँड्ने क्रममा लड्लान्,
आफ्नै बलमा उठ्न सिकाउनुस्
हजार पटक लडेर पनि आफैं उठेपछि
यिनीहरू उभिनेछन् पहरामा उभिएको रुख झैं
खुकुरी र बन्दुक चलाउन होइन
सिकाउनुस् चट्टानी छाती थाप्न
देशलाई परेको बेला ढाल बनेर
यिनीहरूले नै बचाउनेछन् देश
मास्टर साब, के सिकाउँदै हुनुहुन्छ यिनीहरूलाई ?
लैला मजनुको प्रेमकथा या अमर सहिदको जीवनगाथा ?
सुनाउनुस् सहिदका कथा
सिकाउनुस् नेपाली गाउँका भाका
सुनाउनुस् हिमालको कथा
जो पहाडलाई औधी प्रेम गर्छ
-सुनाउनुस् पहाडको कथा
जसले तराईलाई छातीमा टाँस्छ
-सुनाउनुस् तराईको कथा
जो शिरमा सगरमाथा लिएर दसगजामा उभिन्छ ।
मास्टर साब,
यी कलिला बालकलाई विभाजनको धर्म नसिकाउनुस्
असहिष्णुताको जात व्यवस्था नसिकाउनुस्
राजनीतिको अंकगणित नसिकाउनुस् ।
घामका कलिला पाइला टेक्दै
विद्यालय आइपुगेका यी
बालबालिकालाई राष्ट्रगान सिकाउनुस्
राष्ट्रिय झन्डाको रंग चिनाउनुस्
स्वाभिमानी नेपाली बनाउनुस्
एकदिन समय आउनेछ-
उनीहरूले नै यो देश बनाउने छन्
यिनिहरुले नै यो देश बचाउने छन् ।
----------------------------
नोट: यो कविता अनेसासद्वारा २०२२मा आयोजित प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त कविता हो ।