कास्की। भलिबलका अरुणा शाही र विश्वास अधिकारी नवौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष खेलाडी घोषित भएका छन् । मनोनयनमा परेका तीनमध्ये महिलामा अरुणा र पुरुषमा विश्वासले वर्ष खेलाडी जितेका हुन् । आईटीएफ तेक्वान्दो/मुवाँथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ अरुणाको प्रतिस्पर्धी थिए । विश्वासले टेनिसका प्रदीप खड्का र फुटबलका सुमित श्रेष्ठ पछि पारेर बर्ष खेलाडी घोषित भएका हुन् । अरुणा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान हुन् । म्याग्दीमा जन्मिएकी उनी सन् २०१४ मा नेपालमा आयोजित माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन् । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा रहेको नेपाली महिला टोलीले भारतमाथि जित निकालेको थियो । फाइनलमा भारतसँगै पराजित भएर नेपाल उपविजेता बन्यो । टाइगर कप भलिबलमा आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी उनी नेतृत्वको टिमले उपाधि जित्यो । आठौं एनभीए कपमा एभरेस्ट भलिबल क्लबबाट खेलेकी उनले टिमलाई उपविजेता बनाइन् । उनी गत वर्ष नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज महिला भलिबल लिगमा चितवन शक्तिकी मार्की खेलाडी थिइन् । विश्वास नवलरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–३ बाँझोबारीका हुन् । उनले दुई वर्षअघि गण्डकी प्रदेशको टिमबाट डेब्यु गरेका थिए । उनले गत वर्ष श्रीलंकामा काभा यू–२० भलिबलमार्फत राष्ट्रिय भलिबलमा डेब्यु गरे । उनी मिडल ब्लकर हुन् । उनी प्रथम सहाना प्रधान यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी भएका थिए । ३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेश तेस्रो हुँदा उनी टोलीका सदस्य थिए । उनी संलग्न टोली आठौं पीएम कप भलिबल र चौथो टाइगर कप भलिबलमा उपविजेता बनेको थियो । वर्ष खेलाडी अरुणा एवम् विश्वास दुबैले टेलजीको इलेक्ट्रिक स्कुटर पुरस्कार पाए । ओलम्पियन बागलुङकी भगवती खत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । सुटिङकी उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको हो । उनले सन् २००० मा अस्ट्रेलियाको सिड्नी ओलम्पिक खेलेकी थिइन् । ०५१ सालदेखि उनले खेलाडीलाई निःशुल्क सुटिङ प्रशिक्षण दिँदै आएकी छन् । उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट भइन् । यस विधामा भलिबलका जितबहादुर सार्की र एथलेटिक्सका बादल कार्की मनोनयनमा थिए । फुटबल प्रशिक्षक राजेन्द्र तामाङ उत्कृष्ट चुनिए । टेनिसका नीरज थापा र भलिबलका रमेश केसी मनोनयनमा थिए । म्याग्दी जिल्ला भलिबल संघले वर्ष उत्कृष्ट खेल संस्थाको अवार्ड पायो । पत्रकार विजय नेपाल वर्ष उत्कृष्ट खेल पत्रकार चुनिएका छन् । उत्कृष्टलाई जनही ३५ हजारसहित अवार्ड प्रदान गरिएको छ । पोखरा स्पोर्ट्स अवार्ड नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले आयोजना गरेको हो ।
