कुनै बेला सत्ताको शिखरमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज समयको प्रवाहसँग बग्दै, इतिहासका पानाहरूमा सीमित बनेका छन्। यो केवल एक व्यक्तिको पतन मात्र होइन, समयको स्वाभाविक गतिशीलता हो। शक्ति स्थायी हुँदैन, समय परिवर्तनशील छ, र परिवर्तनलाई अस्वीकार गर्न कसैले सक्दैन ।
ज्ञानेन्द्र शाह जो विगतमा राजा थिए । अब उनी केही होइनन् । एक व्यक्ति मात्र हुन्, एक आमनागरिक मात्र हुन् । बुढ्यौलीको सम्पती भनेको निरोगी शरीर, धैर्यता, शान्ति र आत्म संयमता हो । त्यहि कुरा अब उनी सँग रहेन । अझै पनि हराएको सिंहासनतर्फ फर्कन लालायित देखिन्छन् । काम, क्रोध, लोभ, मोहले ग्रस्त मनले कहिल्यै शान्ति पाउँदैन। यदि उनले अझै पनि सत्ताका सपनाहरू देखिरहेकै छन् भने, त्यो केवल उनको मनको भ्रान्ति मात्र हुनेछ।
यता, पारस शाहको कथा झन् दर्दनाक छ। उनी लागुपदार्थको दुष्चक्रमा फसेका छन् । अनुशासनको परिधिबाट बाहिरीएका छन् । जुन व्यक्तिले आफैँलाई सम्हाल्न सक्दैन, उसलाई राज्यको बागडोर सम्हाल्न दिनु भनेको इतिहाससँग ठट्टा गर्नु हो। उनलाई सिंहासनमा बसाल्ने सपना पाल्ने होइन कि बरु रियाब सेन्टरमा राखेर उपचार गर्नुपर्ने खाँचो देखिन्छ ।
पुर्व राजाको परिवारमा एउटा पात्रको नाम हो हिमानी शाह । जो शालीनता र मर्यादाको उदाहरण छन्। पतिको कमजोरीहरू सामना गर्दै पनि उनले संयम र सहनशीलताको उदाहरण प्रस्तुत गरिन्। उनी केवल एक पूर्वराजपरिवारको सदस्य मात्र होइनन् एक आमा पनि हुन् । जसले आफ्ना सन्तानको उज्ज्वल भविष्य सुनिश्चित गर्न खोजिरहेकी छिन्। तर अब, उनको काँधमा जिम्मेवारीको नयाँ बोझ छ । बुढा सासु९ससुराको सेवा, सन्तानलाई नैतिक शिक्षा दिने दायित्व, र आफ्नै जीवनसाथीलाई सही मार्गतर्फ डोर्याउने प्रयास। यी सबै उनका अगाडि चुनौतीका रूपमा उभिएका छन्।
हुन त एक हदसम्म ठिकै पनि भयो । राजनीतिक अराजकताले सिंगो प्रणालीलाई निल्न लागेको थियो । राजावादीहरु सल्बलाएपछि संसदीय पार्टीहरुलाई केही हदसम्म होसमा ल्याएको छ। संसदीय दलहरूको व्यवहारले जनतामा निराशा बढ्दै गएको थियो । माओवादी आन्दोलन धुजाधुजा भैसकेको थियो । उनीहरु आफै भित्रको अन्तर्विरोधमा अल्झिँदै सकिने स्थितिमा पुगिसकेका थिए । शक्ति, अवसर र आन्तरिक लडाइँले यो धार चुँडिँदै गएको थियो। इतिहासले देखाएको छ, जब आदर्शहरू सिद्धिन्छन्क्रा । तब क्रान्ति व्यक्तिवादको घेरामा सिमित हुन्छ । तर यो नयाँ परिस्थितिले ती बिखण्डित धाराहरूलाई पुनः एक बिन्दुमा आउन बाध्य पारेको छ।
गणतन्त्र, जसको सपना देखेर लाखौंले संघर्ष गरे, जसका निम्ति रगत बग्यो, बलिदान भए, आज त्यही गणतन्त्र आफ्नै धरातलमा लरबराइरहेको छ। यसप्रति गर्व गर्ने, यसको रक्षा गर्ने कर्तव्य बोकेकाहरू नै यसलाई कमजोर बनाउने खेलमा मस्त छन्। सत्ताका दलालहरू संसदका कुर्सीहरूमा बसेर निर्णय गर्छन् । ती निर्णयहरू जनताको पक्षमा कम, सत्ताका स्वार्थी चौघेरामा सीमित भइरहेका छन्।
कर्मचारी तन्त्र, जसले देशको शासन प्रशासन चलाउने जिम्मेवारी बोक्नुपर्थ्यो, आज भ्रष्टाचारको दुर्गन्धले दुर्गन्धित छ। फाइलहरू पैसाका बिटोले मात्र सर्छन्, न्याय पनि दलालीको तराजुमा जोखिन्छ। कर्मचारी भनेका जनताको सेवक हुन्, तर यथार्थ के हो भने, तिनले नै जनतालाई सेवाग्राही बनाएर दुःखको यातनागृहमा धकेलेका छन्। अख्तियार नामक संस्था छ, तर त्यो कागजमा मात्र सीमित भएको अनुभूति आम नागरिकलाई भइरहेछ।
संसदीय दलका नेताहरूको चरित्र झनै गम्भीर छ। कुर्सीको खेलमा उन्मत्त भएका यी शासकहरू राष्ट्रको अस्मिताभन्दा आफ्नै गुट, आफ्नै स्वार्थ र आफ्नै उत्तराधिकारीको योजना बुन्न व्यस्त छन्। जनताको अभिमतलाई खेलौना बनाउने, आश्वासनको परालको आगो बाल्ने र यथार्थमा देशलाई जडताको भूमरीमा फसाउने काम निरन्तर भइरहेको छ।
युवा शक्ति, जुन राष्ट्र निर्माणको मेरुदण्ड हो, विदेश पलायनको अन्तहीन लहरमा बिलाइरहेको छ। सारा दुनियाँका बैदेशिक रोजगारका बजारमा नेपाली युवाको पसिना पोखिंदै छ, तर आफ्नै भूमिमा तिनलाई कुनै उज्यालो देखिंदैन। न योग्य अवसर छ, न समुचित नीति, न त राजनीतिक इच्छाशक्ति नै। सरकारहरू भाषणमा युवालाई राष्ट्रको सम्पत्ति भन्छन्, तर व्यावहारिक रूपमा तिनलाई ‘राष्ट्रको बोझ’ सावित गर्ने प्रयास गरिन्छ।
धनी र गरिब बीचको खाडल भयावह रूपमा बढिरहेको छ। एकथरी सत्तासिनहरू र तिनका आसेपासेहरूको सम्पत्तिको पहाड उचालिंदै छ, अर्काथरी निमुखाहरू जीविका चलाउन नसकेर भोकै सुतेका छन्। समाजवादका नारा लगाउनेहरू नै पूँजीवादको चरम नमूना बनेका छन्। राष्ट्रको स्रोतसाधन एक वर्गले मात्र दोहन गर्ने, आम नागरिकका अधिकार पेलेर राख्ने यो परिपाटी दिनप्रतिदिन बलियो बन्दै गएको छ।
गणतन्त्रका जरा कमजोर हुनु, प्रणालीमाथि नै प्रश्न उठ्नु, देशभित्रै व्यवस्था प्रति वितृष्णा जाग्नु सामान्य घटना होइन। यो व्यवस्थालाई अप्ठ्यारो पार्न बाह्य षड्यन्त्र मात्र कारण होइन, भित्रैका विसंगतिहरूले यसलाई क्षय गर्दै लगेका छन्। सुधारको चाहना राख्नेहरूको आवाज दबाउने, न्याय खोज्नेहरूलाई प्रताडित गर्ने, परिवर्तनका पक्षधरलाई हतोत्साहित गर्ने यो प्रवृत्तिले देशलाई कहाँ पुर्याउने हो, त्यो प्रश्न आज जिउँदो छ।
आजको गणतन्त्र अपूर्ण छ । त्यसलाई सुधार्नु छ। कर्मचारीतन्त्र भ्रष्टाचारमा लिप्त छ । त्यसलाई शुद्ध पार्नु छ। राजनीतिज्ञहरू स्वार्थी छन्, तिनलाई उत्तरदायी बनाउनुछ। हामीले रगत बगाएर ल्याएको व्यवस्था पूर्ण भएको छैन । तर गणतन्त्रको विकल्प राजतन्त्र होइन । गणतन्त्र भन्दा पनि प्रगतिशिल व्यवस्था हो। कुनै पनि सचेत समाजले इतिहासको पाना उल्टाउने प्रयास गर्दैन । बरु नयाँ इतिहास रच्ने आँट गर्छ। ठुलो बलिदानीपूर्ण संघर्ष पछि नेपाली समाज राजतन्त्रको कालो युग पन्छाएर यहाँ सम्म आईपुगेको हो ।
यो व्यवस्था हामीले लडेर जितेको हो। यसलाई सुदृढ पार्न पनि लड्नुपर्छ। प्रश्नहरू उठ्नुपर्छ, अन्यायविरुद्ध आवाज बुलन्द हुनुपर्छ। गणतन्त्र नाम मात्रैको नभएर सार्थक हुनुपर्छ, होइन भने यो पनि इतिहासको कुनै कारुणिक अध्याय मात्र बन्नेछ।