भक्तपुर । भक्तपुरको रातोमाटेस्थित घिसिङ डाँडामा धमाधम जथाभावी प्लटिङ हुँदा पानीको मुहान सुक्न थालेको छ भने खानेपानीकै समस्या भएपछि स्थानीय चिन्तिन भएका छन् ।
डाँडाको हरिया सामुदायिक वन र वन क्षेत्रको खानेपानीको मुहानसमेत सुक्न पुग्दा स्थानीयहरू चिन्तित देखिएका हुन् ।
सूर्यविनायक नगरपालिका- ९ काँक्राबारी रातोमाटेस्थित घिसिङडाँडामा प्रकृति, कुलो, सार्वजनिक बाटो, सानो लामा बस्ती, सार्वजनिक जग्गा र वन क्षेत्रसमेत मासिने गरी जथाभावी जग्गा प्लटिङको काम भइरहेको छ ।
महिना दिनदेखि दुई दर्जनभन्दा बढी डोजर सो क्षेत्रको प्रकृति दोहोन गरिँदा पनि स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सरोकारवाला निकाय बेखबर देखिएको स्थानीयको गुनासो छ ।
घिसिङ डाँडाको करिब ५ सय ३५ रोपनी भीर डोजरले कटान गरी उजाड बनाएको छ । निक भुजिकिक हाउजिङ प्रालिले जग्गा खण्डीकरण गरी आवास क्षेत्र निर्माणका लागि सो क्षेत्रमा डोजर चलाएको हो ।
स्थानीयको गुनासोसँगै २ हप्ता अघि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी गण दुवाकोटका प्रहरी उपरीक्षक, नापी कार्यालय, उपत्यका विकास प्राधिकरण भक्तपुर शाखा, डिभिजन वन कार्यालय, सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख, वडा अध्यक्ष सहितले सो क्षेत्रको स्थलगत अनुगमन गरी तत्काल काम रोक्न निर्देशन दिएपनि हाउजिङ कम्पनीले निर्देशनको ठाडो उल्लंघन गरेको छ ।
स्थानीयले साविक नंखेल गाविस वडा नं- ४ ‘क’ र ‘ख’ मा पर्ने उक्त क्षेत्रमा प्लटिङका नाममा जङ्गल क्षेत्र, खानेपानीको मूल, पाटी, कुलो, बाटो, पाइपलाइन, खोलालगायत संरचना मासिएको र जोखिममा रहेका ६ घर भत्काएर बस्ती सारिएको छ । सो प्लटिङले १२ रोपनी सार्वजनिक जग्गा र १९ रोपनी वन क्षेत्र समेत मिचेको दाबी स्थानीयको छ ।
सूर्यविनायक नगरपालिका वडा नं ९ का अध्यक्ष भगवान खत्रीले भने, "१२ रोपनी सार्वजनिक जग्गा र १९ रोपनी वनक्षेत्र मिचेको पाइएपछी हामीले तत्काल काम रोक्न निर्देशन दिएका थियौं तर हाम्रो निर्देशनको सुनुवाइ भएन ।'
'नगरपालिकामा जग्गा सम्याउने भनेर कम्पनीको तर्फबाट निवेदन आएको थियो । नगरपालिकाले अनुमति दिइसकेको छैन । साइड क्लिरियन्सको नाममा स्वीकृत नै नलिइ धेरै काम भइसके छ । यहाँको बस्ती नै हटेछ, हामी पनि छक्क परेका छौँ । अब थप काम अगाडि बढाउन दिईन्न ।' सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण भक्तपुर शाखाका प्रमुख सफल श्रेष्ठले ५० रोपनीभन्दा माथिको जग्गा प्लानिङका लागि प्राधिकरणको केन्द्रीय कार्यालयसँग अनुमति लिनुपर्ने भएकाले यसबारेमा जिल्ला कार्यालयलाई कुनै जानकारी नभएको बताएका छन् ।
डिभिजन वन कार्यालयका कर्मचारी दिनेश थापामगरले नापी कार्यालयको टोली बोलाएर वन क्षेत्र छुट्याएर किला ठोके पनि करिब १९ रोपनी वन क्षेत्रमा डोजर चलाएको बताउँदै हाउजिङ्गले यहाँको सल्लाको रूख समेत कटान गरेको बताए ।