काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयको पिउने पानीमा कोलिफर्म भेटिएको छ । पानीको गुणस्तर चेकजाँचको क्रममा कोलिफर्म भेटिएपछि सी एन इन्टरप्राइजेजशीत पानी आफूर्तिको सम्झौता तोड्दै इन्टरप्राईजेजलाई दुई लाख जरिवाना समेत तोकेको छ।
पानीमा कोलिफर्म भेटिएसँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता भङ्ग गरेको हो।
कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले बताए।
महानगरपालिकाद्वारा सीएन इन्टरप्राईजेजलाई पठाईएको पत्रमा भनिएको छ, “यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो। कामपा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम दुई लाख जरिवाना तोकिएको छ।”