कास्की । प्रतिविम्ब वाङ्मय प्रतिष्ठान, पोखरा–१९ को आयोजनामा वसन्त काव्य महोत्सव सम्पन्न भएको छ । शनिबार महोत्सव सम्पन्न भएको हो । जनकविकेशरी धर्मराज थापाको शतवार्षिकीका अवसरमा लामाचौरमा दुई दिनसम्म महोत्सव चलेको हो । महोत्सव समापन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख अतिथी थिए । मेयर आचार्यसहित कार्यक्रमका परिकल्पनाकार संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, अल्फा बोर्डिङका प्रिन्सिपल सुरेन्द्रमान सिंह भण्डारी, कवि ज्योति जंगल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । महोत्सवको दोस्रो दिन नेपाली गजल एवं नेपाली कविताबारे परिचर्चा भएको थियो । ‘नेपाली कवितामा पोखरा परिचर्चा’ सेसनमा वक्ता प्राडा यदुनन्दन उपाध्याय र प्राडा जगन्नाथ रेग्मी थिए । सेसनको सहजीकरण ईश्वरमणि अधिकारीले गरे । अर्को सेसन ‘नेपाली गजलमा पोखरा परिचर्चा’ मा वक्ताका रुपमा आवाज शर्मा र रुपिन्द्र प्रभावी थिए भने सहजीकरण दीपक समीपले गरेका थिए । यसैगरी, महोत्सवमा कविशिरोमणि लेखनाथ पौडेलमा समर्पित रहेर १९ जना कविले कविता वाचन गरे । यस्तै, गजलकार मनु ब्राजाकीमा समर्पित गजल वाचन गरिएको थियो । पहिलो दिन नेपाली मुक्तकमा पोखरा परिचर्चा सेसनमा सन्जीव पौडेल र डा. भूमिराज वस्ताकोटी मुक्तकमा चर्चा-परिचर्चा गरे । यश सेसनको सहजीकरण मुक्तककार प्राञ्जलले गरेका थिए । महोत्सवको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् । सो अवसरमा नेपाली भाषा, साहित्य, कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भाषाविद् मुकुन्दशरण उपाध्याय, साहित्यकार सरुभक्त र गजलकार ज्ञानुवाकर पौडेललाई सम्मान गरिएको थियो । स्रष्टाहरुलाई प्रमुख अतिथी मुख्यमन्त्री पाण्डे लगायतले दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, सम्मानित स्रष्टाको तर्फबाट मुकुुन्दरशण उपाध्याय, महोत्सवका सल्लाहकार तीर्थ श्रेष्ठ, लोकगायिका एवं प्राज्ञ हरिदेवी कोइराला, धर्मराज सावित्री थापा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनराज थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । पहिलो दिन जनकविकेशरी थापासहित कवि एवं मुक्तककार भूपी शेरचनमा समर्पित कविता वाचन, गायन, नृत्य प्रस्तुत गरिएको थियो । सरस्वती आदर्श विद्याश्रम र अल्फा बोर्डिङका विद्यार्थीले नृत्य प्रस्तुत गरे भने गायक रामभक्त जोजिजू र इतू जोजिजूले जनकविकेशरी थापाको स्मरणमा ‘सिरिमासिरी नि कान्छा’ बोलको गीत गाए । जनकविकेशरीका ज्येष्ठ सुपुत्र मदनराज थापासँग मिलेर मिलन गुरुङले ‘हरियो डाँडामाथि हलो जोत्ने साथी’ गीत गाउँदा हल गुञ्जायमान बनेको थियो । प्रतिष्ठान अध्यक्ष शिवहरि आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रतिष्ठान सदस्य बुद्धिबहादुर खत्री क्षत्रीले गरेका थिए । आगामी वर्षमा पनि वसन्त काव्य महोत्सवलाई निरन्तरता दिइने प्रतिष्ठान अध्यक्ष शिवहरि आचार्यले बताए ।
