तनहु । शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले मृगौला रोगीका लागि डायलासिस सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सो सेवाको बिहिबार शुभारम्भ गरेका छन् । लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा जिपी कोइराला लायन्स हेमोडायलासिस युनिट स्थापना गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएका छन् । यसअघि तीन वटा उपकरणबाट डायलासिसको सफल परीक्षण गरिएको समेत केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले भने, “पहिलो चरणमा एक सिफ्ट सञ्चालन गर्न लागेका छौँ । जसबाट दैनिक पाँच जनालाई सेवा दिन सक्नेछौं।” डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइएको समेत जनाईएको छ । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वास उपचार केन्द्र स्थापना गरेको हो । शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा छ ।
