Comments Add Comment

'नीलो माइक्रोजस्तो नदी' मेरो जीवनको उकाली ओराली यात्रा

२०५१ बाट कविता लेखन आरम्भ गरेका विष्णु थापा ‘विछोड’ मुक्तक, गजल, गीतसमेतमा कलम चलाउँछन् । ‘नीलो माइक्रोजस्तो नदी’ कवितासंग्रह लिएर आउन लाग्नुभएका कवि थापा ‘डिप्लोमा इन फार्मेसी’को अध्ययन गरी सोही सम्वन्धी पेशामा संलग्न छन् ।  ‘जीवनको लय’ मुक्तकसंग्रह समेत प्रकाशन गर्नु भएका कवि थापालाई कवि मिसन अधिकारीले कवि र कवितामाथि नै केन्द्रित रहेर दर्जन प्रश्न गरेका छन्- सम्पादक

‘निलो माइक्रोजस्तो नदी’ के हो ?

‘निलो माइक्रोजस्तो नदी’ आउनै लागेको मेरो कवितासंग्रह हो । शीर्षकले जीवनको यात्रा र त्यसमा आउने उतार-चढावलाई चित्रण गर्छ। नीलो माइक्रोको विम्बले जीवनको निरन्तर गति र लयलाई जनाउँछ भने नदीले प्रवाह र परिवर्तनलाई संकेत गर्दछ। ‘नीलो माइक्रोजस्तो नदी’ मार्फत मैले वर्तमान समय र जीवनलाई लेख्ने प्रयत्न गरेको छु ।

कवितासंग्रहमा कति कविता छन् ? कस्ता कविता छन् ?

यो संग्रहमा मेरा ४८ वटा कविताहरू समावेश छन्। यी कविताहरूमा मेरो व्यक्तिगत अनुभव, सामाजिक यथार्थ, प्रेम, पीडा र प्रकृतिप्रतिको आफ्नो दृष्टिकोणलाई समेटेको छु ।

लेखन मेरो रहर, समाज बुझाई, प्रेम र प्रकृति सबैको संयोजनबाट प्राप्त उर्जा हो। मनको भावलाई संकलन गरेर अरूसित अभिव्यक्त गर्न म कविता लेख्छु ।’

कविता के हो ? तपाईंका लागि कविता रहर कि दायित्व ?

कविता मेरो लागि दायित्व मात्रै होइन, यो मेरो रहर ,आत्म-अभिव्यक्ति र भावनाको बहाव हो, जसले कवितालाई जीवन दिन्छ।

तपाईंका कवितामा रहर वा दायित्व कसरी आएका छन् ?

मेरो कवितामा रहर र दायित्व दुवै छन् । जस्तै, यात्रा, भाइलाई चिठी, सम्बन्ध, केटाकेटी शीर्षकका कवितामा जीवनप्रतिको दायित्व र रहर प्रकट हुन्छ।

तपाईंको पहिलो कविता कुन् हो ? यो सङ्ग्रहमा पनि छ ?

मेरो पहिलो कविता ‘देश’ थियो। जुन कविता मैले स्कुल पढ्दा लेखेको थिएँ । सरल शब्दमा देश प्रतिको माया लेखेको थिएँ । तर कतै प्रकाशन भएन । यो नै अहिलेको मेरो कवितासंग्रहको पनि पहिलो कविता हो ।

तपाईंका दुई (पहिलो र अन्तिम) कविताबारे भन्नुहोस् न। यी दुई कवितामा तपाईं आफ्नो अनुहार कस्तो देख्नुहुन्छ ?

यो ‘नीलो माइक्रो जस्तो नदी’को पहिलो कविता ‘स्मृतिका पाना’ र अन्त्यमा ‘सम्झने छुट छ मलाई’मा
म आफूलाई बाल्यकाल देखि अहिलेसम्मको अनुभव देख्छु । म जस्तो छु, त्यस्तै आफ्नो अनुहार देख्छु ।

कविता लेखनमा प्रवृत्त कसरी हुनुभयो ? तपाईंलाई ‘मन परेको कवि’ को हुन् ?

कवि र कविताले हाम्रो समाजलाई गहिरो प्रभाव पारेका छन् भन्ने विश्वास गर्दछु । सुन्दर कविताले व्यक्ती, समाजलाई उज्यालो दिन्छ । परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्छ ।’

कविता लेखनमा प्रवृत्त हुनु मेरो बाल्यकालको रुचि र साहित्य प्रेमले नै प्रेरित गरेको हो। “मन परेको कवि” धेरै छन् । रमेश क्षितिज , मञ्जुल, अभय श्रेष्ठ, चन्द्र गुरुङ आदि मलाई मन पर्ने कवि हुन् । जसको लेखनले मन छोएर गहिरो प्रभाव पार्छ मलाई ती कवि र कविता मन पर्छन् ।

केही ‘मन परेका कविता’ को नाम लिनुपर्दा कुन-कुन नाम लिनुहुन्छ ?

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, गोपालप्रसाद रिमालको ‘आमाको सपना’ सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ रमेश क्षितिजको ‘पर्वत पर्वतमा बटुवा घाम’, प्रकाश रम्घालीको ‘साँझको संगत’, भूपीनको ‘भूपीनका कविताहरू’ केही मन परेका कविता कृति हुन्।

धेरै कविता मलाई मन परेका कविताको सूचिमा छन् । यी कविताले नेपाली साहित्यलाई र समाजलाई गहिरो प्रभाव पारेका छन् । हालका केही कवि र कविताले हाम्रो समाजलाई गहिरो प्रभाव पारेका छन् भन्ने विश्वास गर्दछु । सुन्दर कविताले व्यक्ती, समाजलाई उज्यालो दिन्छ । परिवर्तनको लागि महत्वपूर्ण भूमिका खेल्छ ।

तपाईं आफ्नो कविताको शक्ति र सौन्दर्य के हुन् ? अनि कमजोरी नि ?

मैले सरल शब्दमा गहन भाव व्यक्त गर्न प्रयास गरेको छु। यी कविताको सौन्दर्य भनेको जीवनका साना पक्षलाई पनि महत्त्व दिनु हो । मैले शब्दमार्फत सानू विषय या बस्तुलाई पनि महत्व दिएर सम्मान गरेको छु ।

लेखन मेरो रहर, समाज बुझाई, प्रेम र प्रकृति सबैको संयोजनबाट प्राप्त उर्जा हो। मनको भावलाई संकलन गरेर अरूसित अभिव्यक्त गर्न म कविता लेख्छु ।

मेरा कविताको कमजोरी भनेको चाँहि धेरै गहन शब्द प्रयोगमा ध्यान नदिनु अर्थात् अनुसन्धानको गहिराईमा नपुगी सरल शब्द, सटिक भाषा प्रयोग गर्नु हो जस्तो लाग्छ । मेरो कविताको कमजोरी या मेरो लेखनको शक्ति यहिं छ भन्ने मलाई लाग्छ ।

तपाईं किन लेख्नुहुन्छ कविता ? 

लेखन मेरो रहर, समाज बुझाई, प्रेम र प्रकृति सबैको संयोजनबाट प्राप्त उर्जा हो। मनको भावलाई संकलन गरेर अरूसित अभिव्यक्त गर्न म कविता लेख्छु । कविता लेख्नुले मलाई मेरो जीवनका अनुभव र भावना व्यक्त गर्न मद्दत गर्छ।

अन्त्यमा, केही भन्न मन लागेका कुरा छन् ?

खास जीवन र जीवनमा घटित आयामहरूसँग गुनासो छैन । जे भैरहेको छ, सबै ठिक छ । जीवन या यात्रामा उकाली ओराली छन्, हामी आफ्नो यात्रामा अगाडी बढिरहन आवश्यक हुन्छ ।
‘नीलो माइक्रोजस्तो नदी’ मेरो एउटा उकाली ओराली हो, एउटा यात्रा हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ