Comments Add Comment

"साहित्य राजनीतिबाट अलग हुन सक्दैन"

दिनचर्या कसरी बितिरहेको छ ?

शिक्षण पेशामा संलग्न भएको कारणले दिउसो विद्यालयमा हुन्छु । पुस्तक अध्ययन मेरो रूचिको विषय हो । अतिरिक्त समय गजल, कविता, मुक्तक आदि लेख्ने गर्दै आएको छु । यसरी नै मेरो सामान्य दिनचर्या सञ्चालन भइरहेको छ । प्युठानका साहित्यिक गतिविधिमा पनि सकेसम्म क्रियाशील रहँदै आएको छु ।

तपाइँलाई साहित्यमा मनपर्ने विधा कुन हो ?

मेरो पहिलो कृति गजलसङ्ग्रह नै प्रकाशित भएको छ । गजलद्वारा थोरै भनेर धेरै कुरा बुझाउन सकिन्छ । मलाई साहित्यका सबै विधा मन पर्दछन् । त्यसमा पनि गजल साहित्यमा मेरो थप अभिरूचि छ । गजल मार्फत् आप्mना भावना र समाज व्यवस्थाप्रतिको दृष्टिकोण पस्कन सजिलो लाग्छ ।

प्युठानमा साहित्यिक गतिविधि कसरी अगाडि बढेको छ ?

राजनीति, भाषा, साहित्य, कला तथा सांस्कृतिक बृद्धि विकासको आलोकमा प्युठान उर्वर भूमिका रूपमा परिचित छ । प्युठानले धेरै दर्शन र राजनीतिक चिन्तक तथा लेखक साहित्यकारहरू जन्माएको छ । प्युठानमा प्रगतिशील लेखक सङ्घ, राप्ती साहित्य परिषद प्युठान शाखा, साहित्य परिषद प्युठान, लुम्बिनी वाङ्मय प्रतिष्ठान लगायत साहित्यिक संस्थाहरू क्रियाशील छन् । प्युठानमा राष्ट्रिय स्तरका साहित्यिक, सांस्कृतिक गतिविधिहरू भइरहेका छन् । केही वर्ष प्युठान सुस्ताएकै हो । अहिले पहिलेको तुलनामा साहित्यिक गतिविधिमा बढोत्तरी आएको छ । प्युठानले पुनः राष्ट्रिय चर्चा पाएको छ ।

साहित्य, कलामा लाग्ने उत्प्रेरणा कसरी जागृत भयो ?

मोरे जीवनको अनुभव भावनात्मक गहिराइ समाजप्रतिको संवेदनशीलता जस्ता विविध पक्षले मलाई यतातिर डो¥याए । ममा बाल्यकालबाटै शब्द, भाव र कल्पनाको रूचि थियो । त्यस क्रममा वाम राजनीतिक प्रशिक्षण र अध्ययनले त्यो उत्प्रेरणामा थप योगदान पु¥यायो । यसले गर्दा सामान्यरूपमा साहित्य र कलाको क्षेत्रमा लाग्ने दिशाबोध पनि प्राप्त भयो ।

साहित्यमा वर्गीय पक्षधरताको विषयप्रति यहाँको धारणा के छ ?

समाज आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा वर्गमा विभाजित छ । शोषित, पीडित वर्गको पक्षमा लेखिनु र परिवर्तनको पक्षमा उभिनु सबै साहित्यकारको कर्तव्य हुन्छ । वर्गीय समाजमा साहित्य पनि वर्गीय हुन्छ । तर यसलाई हामीले एकाङ्की र सङ्कीर्णरूपमा लिनुहुँदैन । परिवर्तनको पक्षमा उभिने सबै साहित्यकार एक हुनुपर्छ । साहित्यको वर्गीय पक्षधरतालाई सन्तुलनकारी रूपबाट अगाडि बढाउनुपर्छ । साहित्य न्याय, समानता, स्वतन्त्रता तथा उत्पीडित जनताको पक्षमा उभिनुपर्छ । यो नै साहित्यकारहरूको दायित्व र कर्तव्य हो ।

राजनीति र साहित्यको अन्तरसम्बन्ध कस्तो हुन्छ ?

राजनीति र साहित्यको अन्तरसम्बन्ध ऐतिहासिक, बहुआयामिक तथा गहन छ । साहित्य सामाजिक चेतनाको माथिल्लो रूप हो । राजनीति त नीतिहरूको नीति भइहाल्यो । निर्भीक साहित्यले सकारात्मक परिवर्तनका लागि एउटा माहोल सिर्जना गर्दछ । परिवर्तन पश्चात्को व्यवस्थामा पैदा हुनसक्ने विकृति र विसङ्गतिका विरुद्धमा आवाज उठाउँछ । रुसको क्रान्तिमा ‘आमा’ उपन्यास भारतको परिवर्तनमा ‘प्रेमचन्द्र’ उपन्यासहरूको महत्वपूर्ण योगदान रहेको थियो । वि.पि. राजनीतिक व्यक्तित्व हुन् । तर उनको साहित्यिक गरिमा उच्च छ । साहित्य र राजनीति एक अर्काका पूरक हुन् । राजनीतिभन्दा त साहित्यले यथार्थता बोकेको देखिन्छ । सामाजिक, राजनीतिक यथार्थताबाट बहकिएको साहित्य साहित्य हुँदैन ।

नेपालको राजनीतिमा पैदा भएको मूल्यविघटनलाई एउटा साहित्यकारको आँखाबाट कसरी हेर्नुहुन्छ ?

समग्रमा नेपालको राजनीति डरलाग्दो गरी मूल्यविघटनको सिकार भएको छ । यो वा त्यो पक्ष भन्ने अवस्था नै छैन । नेपालमा सङ्घीय समानुपातिक, समावेशी सिद्धान्तमा आधारित लोकतन्त्र स्थापना भएको छ । सोही अनुरूपको संविधान निर्माण भएको छ । कार्यान्वयन ठीक तरिकाले भएको छैन । भ्रष्टाचार, कमिशनतन्त्र, दलीय स्वार्थ, विचारधारात्मक सङ्कट, अराजकता, सिद्धान्त र व्यवहारबीचको अन्तर्विरोध आदि कुराहरू ठूला समस्या बनेका छन् । राजनीतिक नेतृत्वले पारदर्शिता, जवाफदेहिता तथा नैतिक मूल्यलाई आत्मसात गरेर व्यक्तिगत र दलीय स्वार्थ भन्दा माथि उठेर राजनीतिक भूमिका निर्वाह गर्नुपर्दछ । तर त्यसो भइरहेको छैन । त्यसैले जनतामा समग्र राजनीतिप्रति नै अविश्वास र घृणा पैदा भएको देखिन्छ । यो नै राजनीतिक मूल्यविघटनको सूचक हो । राजनीतिमा मूल्य स्थापित नहुँदा मुलुक बन्दैन । यो नेपालको ठूलो राष्ट्रिय चिन्ताको विषय बनेको छ । यस्तै नै हो भने त जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धि नै सङ्कटमा पर्ने खतरा छ । भ्रष्टाचार नै यो देशको सबभन्दा ठूलो समस्या हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ