काठमाण्डौं। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन्। जेठ ४ गते बिहान ९ः२० बजे उनले ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए।
सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार १ सय १४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए। तराई पहाड हिमाल, सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपाल भन्ने सन्देशसहित सहायक निरीक्षक छत्याल ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
