बज्दा-बज्दै आइते सिङको हातबाट
जब भुईंमा खसे
चुपचाप एउटा कुनामा
आफ्नै इतिहासको लोरी गाउँदै बसे ।
साशकहरुको दमनमा परेको दिनदेखि
उध्रिन थालेको रहेछ सुन्दरताको च्यादर
भत्किन थालेको रहेछ
अस्तित्व बचाउन उभिने बत्तिस किल्ला
शिरमा नाची बस्ने डाँफे चराको
पखेटा र खुट्टा भाँचिएको रहेछ
जसले साँस्कृतिक बाजा डम्फू बजाई नाचे, गाए
उसैको हात काटिएको रहेछ
घाँटी ङ्याकिएको रहेछ ।
निरङ्कुस लात परेको दिनदेखि
आजसम्म आङ तन्काउन पनि सकेको छैन
सायद अस्तित्व जोगाउन प्रतिकार गर्ने बेला
आइते सिङको हातबाट उछिट्टिएर
भुइमा बजारिए सँगै
छेउछाउबाट अँगालो हालेर बस्ने
प्रिय, जुइनाहरुमा दरार आएको हुनुपर्छ ।
यही धर्तिमा दफन गराउँछु भनेर दुसमनहरूले
कच्याक-कुच्युक गरेता पनि
झन-झन ठुलो स्वरमा बज्न थालेको छ आजभोलि
बरु सँगै बज्न तम्सेका छन् झ्याली, झ्याम्टा र ढोलक
सँगै नाच्न थालेका छन् लाखे, सोरठी र कौरा
एउटै लयमा गाउँछन् देशको राष्ट्रिय गान ।
यो बृहत् आन्दोलनमा
जुर्मुराउदै जोडजोडले गुन्जिएका छन् सेलोको धुन
आदिम युगको दोङराप झल्काउँदै
बज्छ ताकधुम-धुम, ताकधुम-धुम
जसले जानीजानी-छानीछानी
नेमिट्यान्न पार्न खोज्यौ
उसैको नजरसामु
मरी नसकेको र मारी नसिद्धिएको प्रमाण देखाउँदै
धर्ना दिइरहेका छन् डम्फूहरु ।
आओ परिवर्तनको राँको बालेर उठौं एकपटक
आइते सिङ र पेङदोर्जेका हातहरू
उसैगरी सल्बलाउँदै छ
यो पुरानो डम्फू सुमसुम्याउन
आदीबासी सिङ्हासन ओगट्नु छ हामीलाई
आओ पुण:ह प्रतिस्थापन गरौं र
अधिकार प्राप्तिको लागि
जोडजोडले आन्दोलन गरौं ।
** ** ** ** **
द्रष्टव्य: कवि जमराको यो कविता नेपाल आदिवासी जनजाती महासंघ, गणतन्त्र कोरियाद्वारा आयोजित विस्वव्यापि कविताप्रतियोगिता-२०२४/०२५ मा सान्त्वना पुरस्कारद्वारा पुरस्कृत कविता हो ।
