Comments Add Comment

कविता: आशिष मलाई दिनू

 

          आमा हुन् तुलसी र औषधि स्वयं आमा स्वयं मेदिनी 
          आमा जीवन हुन् र जीवन स्वयं सज्ञानकी दायिनी 
          आमाको तुलना धरातल सबै मिथ्या अरू प्रेम हो 
          आमाकै रजबाट निर्मित भयो हाम्रो अहो देह यो ।।

         आमाको महिमा म तुच्छ कसरी गर्थेँ र विश्लेषण 
         आमा शीतल प्राण हुन् पवन हुन् आमा उज्यालो दिन 
          आमाको प्रिय काख स्वर्ग भवको आकाश सिंहासन 
          आमाको मन ठान्छु ईश्वर तथा हो देह देवस्थल  ।।

           आमा शिल्प कला र शिष्ट रस हुन् आमा स्वयं शारदा 
          आमा दिव्य प्रकाश हुन् हृदय की हुन् मोक्षकी नर्मदा 
          आमा हुन् कविता निबन्ध पनि हुन् संगीतकी सुर हुन् ।।
          आमा हुन् करुणा दया सतत हुन् आकाशकी जून हुन् 

          माया नामक शब्दकी सुरु उनी हुन् स्रोत वात्सल्यकी 
          के संस्कार बसाल्नु सभ्य कुन हो हुन् डोर सम्बन्धकी
          भोको पेट सुत्यो कि भोजन गर्‍यो चिन्ता सबैको लिने 
         यी सन्तान बनुन् सदैव दरिला भन्ने र हुर्काउने ।। 

         राखी नौ महिना सगर्व तनमा संसार देखाउने 
         त्यो वक्षस्थलको खन्याइ ममता शिक्षा र दीक्षा दिने 
         बाँचुन्जेल सधैं कहाँ छ कसरी के गर्छ होला भनी 
         राम्रो काम भए खुसी भइदिने हाँसे  रमाईदिने ।।

         यस्तै चिन्तन गर्दछिन् हरघडी आमा हुनाले उनी 
         आमाकै यदि कोख मिल्दछ भने जन्मौँ हजारौं जुनी 
         हाम्री ती ममतामयी जननीका  इच्छा पुर्‍याई दिनु 
         जोडी हात प्रणाम गर्छु भगवान्  आशिष् मलाई दिनु ।।

         छोरीको समवेदना गह बनी आफैँ सदा पग्लियौ 
         आफ्नो स्वास्थ विचार रत्ति नगरि  आँखासँगै छल्कियौ 
         ए आमा म सदा खुसी छु कहिल्यै चिन्ता न मेरो लिनू
         यस्तै हो दुनियाँ म कर्म गरुँला आशिष् मलाई दिनू ।। 

यस्ता मीठा कविता रचना गर्ने कवि सृजना सरोवरलाई जन्मदिनको हार्दिक शुभकामना ! 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर