खोटाङ । बाक्सिला फुटबल क्लब र नुनथला फुटबल क्लब दिक्तेलमा जारी ‘छैटौँ सूचन केएफए दिक्तेल मेयर कप आमन्त्रित फुटबल प्रतियोगिता–२०८२’को फाइनलमा प्रवेश गरेको छ।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा हलेसी तुवाचुङ फुटबल क्लबलाई १–० ले पराजित गर्दै बाक्सिला फुटबल क्लब तथा नेर्पा स्पोर्टस् क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै नुनथला फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो।
हलेसी तुवाचुङ र बाक्सिला फुटबल क्लबबीच भएको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफमा बाक्सिला पुटबल क्लबका जर्सी नम्बर ३० का सामेल राईले गरेको गोल नै फाइनलका लागि निर्णायक बनेको थियो ।
निकै रोचक प्रतिस्पर्धा भएको सेमिफाइनलको पहिलो खेलमा बाक्सिला फुटबल क्लबका सामेलले दोस्रो हाफको ६० औँ मिनेटमा गोल गर्दै आफ्नो क्लबलाई फाइनल प्रवेश गराए।
नुनथला फुटबल क्लब र नेर्पा स्पोर्टस् क्लबबीच शुक्रबार नै साँझ सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समयमा दुवैतर्फको दुई÷दुई गोल भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा नुनथलाका खेलाडीले पाँच गोल गर्दा नेर्पाका खेलाडीले चार गोलमात्र गरेपछि नुनथला फाइनल प्रवेश गरेको हो।
प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)का खेल संयोजक श्याम पौडेलले जानकारी दिए। छैटौँ संस्करणको प्रतियोगिताका विजेता क्लबले नगद रु दुई लाख तथा उपविजेताले नगद रु एक लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
छैटौँ संस्करणको आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विद्यागत पुरस्कारअन्तरगत सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको छैटौँ संस्करणको आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा जिल्लाका आठवटा फुटबल क्बलको सहभागिता रहेको छ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई कार्यक्षेत्र बनाएर वि।सं। २०७३ सालमा स्थापना गरिएको एकेडेमीले वार्षिक कार्यतालिका तयार गरेर विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ।
‘स्थानीय खेलाडीहरुको विकास र पहिचान, खोटाङ फुटबल एकेडेमीको अभियान’ भन्ने नाराका साथ छैटौँ संस्करणको प्रतियोगिता आयोजना गरिएको केएफएका अध्यक्ष नूरकाजी सैँजूले जानकारी दिए।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँगको सहकार्यमा विभिन्न उमेर समूहका खेलाडीहरुलाई सहभागी गराएर फुटबल खेल सम्बन्धी प्रशिक्षणसमेत सञ्चालन गर्दै आएको केएफएले अधिकांश प्रतियोगिताहरु दाताकै सहयोगमा सम्पन्न गर्ने गरेका छन्।
फुटबल खेललाई व्यवसायीकरण गर्दै जिल्लामै व्यवसायीक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गरिएको केएफएले उत्पादन गरेको खेलाडीहरु विभिन्न विभागीय टिम तथा फुटबल क्बलहरुमा आवद्ध भएर खेलिरहेका छन्। रासस
