काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा, घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३९ वर्षीया शारदा कार्की र गुल्मी घर भई काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रूपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको थिइन ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौं टेकुबाट आइतबार र रविनलाई काठमाडौं कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो ।
शारदालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
